कांग्रेस महामन्त्रीमा गगन या विश्वप्रकाश ?

काठमाडाैं । नेपाली कांग्रेसको दशौं महाधिवेशनमा महामन्त्रीका लागि चर्चित नेताद्वय गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको संशोधित विधानअनुसार यस पटकदेखि दुई महामन्त्री महाधिवेशनबाट निर्वाचित हुनेछन् । यसअघि एक महामन्त्री मनोनयन गर्ने व्यवस्था थियो ।

नेपाली कांग्रेसको प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका केन्द्रीय सदस्य शर्माले बिहीवार उम्मेदवारी घोषणा गरेका हुन् । 

बीपी स्मृति संग्रहालय सुन्दरीजलमा कांग्रेस संस्थापक बीपी कोइरालाको १०८ औं जन्म जयन्तीको अवसर पारेर शर्माले उम्मेदवारीको घोषणा गरेका हुन् । 

शर्माले १५ वर्ष लगातार कांग्रेसको नेतृत्वमा सरकार सञ्चालन गर्ने परिकल्पनासहित आफूले महामन्त्री घोषणा गरेको बताए । 

शर्माले उम्मेदवारी घोषणा गर्ने क्रममा सुन्दरीजलको बगैँचामा रुद्राक्षको बिरुवा पनि रोपेका छन् ।

विश्वप्रकाशको उम्मेदवारी घोषणासँगै कांग्रेस महामन्त्रीका लागि दुई चर्चित नेताको भेट पक्का भएको छ । अर्का नेता गगनले केही दिनअघि काठमाडौं ३० को वडा भेलामा उम्मेदवारी घोषणा गरेका थिए । 

दुवै नेताले अहिलेसम्म कुन प्यानलबाट प्रतिस्पर्धा गर्ने भन्ने औपचारिकरूपमा बताएका छैैनन् । शर्माले संस्थापन पक्षबाट र थापाले संस्थापन इतरबाट उम्मेदवारी दिने सम्भावना छ ।

विगतमा कृष्ण सिटौलाको प्यानलबाट उम्मेदवारी दिएका गगन केही दिनअघि वरिष्ठ नेता रामचन्द्र पौडेललगायत संस्थापनइतरको भेलामा सहभागी भएका थिए । 

१३ औं महाधिवेशनमा सिटौला प्यानलबाट उम्मेदवारी दिएका गगन महामन्त्रीमा पराजित भएका थिए । विश्वप्रकाशले भने महामन्त्रीमा पहिलोपटक उम्मेदवारी घोषणा गरेका हुन् । 

नेपाल विद्यार्थी संघका अर्का पूर्व अध्यक्ष प्रदीप पौडेलले पनि आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका छन् । उनले अहिलेसम्म औपचारिक घोषणा भने गरेका छैैनन् । 

महामन्त्रीका लागि सहमहामन्त्री डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल लगायतका नेताहरूले पनि उम्मेदवारी दिने चर्चा छ । यस्तै डा. चन्द्र भण्डारी, गुरुराज घिमिरे, धनराज गुरुङ लगायतका नेताहरूले पनि महामन्त्रीको उम्मेदवारी दिने तयारी गरेको कांग्रेस स्रोत बताउँछ । 

सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका विमलेन्द्र निधिले पनि महामन्त्रीसहितको प्यानल बनाउने तयारी गरेका छन् । 

पटक–पटक स्थागित हुँदै आएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९ देखि १२ गतेसम्म काठमाडौंमा हुँदैछ ।