यस्तो छ आजको मौसम

काठमाडौं । देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा अहिले भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । यस्तै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको पनि मौसमविदले बताएका छन् ।

अहिले देशभर आंशिकदेखि सामान्य बदलीसहित बागमती प्रदेशका थोरै स्थान तथा प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थान मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैबिच पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।