८३ किलो गाँजासहित एक युवक पक्राउ

वीरगञ्ज । प्रहरीले ८३ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

बारा जितपुरसिमरा उपमहानगरपालिका–१६ टाँगिया बस्ती निवासी रुक बहादुर रुम्बालाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गबाट बाराको काठघाट जाने सडकखण्डमा गाँजा बोकी आइरहेका तस्करहरुको समूहले प्रहरीलाई देख्नासाथ पिठ्यूँमा बोकेको गाँजा छाडेर भागेका थिए।

उनीहरुमध्ये रुम्बा पक्राउ परेको तथा अन्य तस्करहरु भने फरार भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

तस्करहरुले फालेको चार बोरामा रहेको ८३ किलो गाँजासहित बा ३७ प ९६८१ नम्बरको एक थान मोटरसाइकलसमेत बरामद गरिएको उनले बताए। फरार भएकाहरुको खोजी कार्य भइरहेको मिश्रले बताए।