कोभिड विरुद्धको खोप लगाईदिए वापत घुस माग्ने अख्तियारको फन्दामा


काठमाडौं । कोभिड विरुद्धको खोप लगाउँदा पनि घुस माग्ने स्वास्थ्यकर्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । सरकारले निःशुल्क रुपमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप लगाई दिएबापत घूस मागेको अभियोगमा दुई स्वास्थ्यकर्मी पक्राउ परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार महोत्तरी स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साहले हेल्थ असिस्टेन्टमा अध्ययनरत विद्यार्थी कृष्णाकुमार यादवलाई परिचालन गरी सेवाग्राहीसँग रु २० हजार घूस मागेका थिए ।

निःशुल्क रुपमा उपलब्ध हुने कोरोनाको खोप लगाउन घूस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टङ्गालबाट गएको टोलीले जनकपुर उपमहानगरपालिका–७ नयाँ बसपार्कबाट घूससहित पक्राउ गरेको हो । आरोपीद्वयको थप अनुसन्धान भइरहेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।