महानगरले आफै गर्न सक्ने काम पनि अन्य निकायका कारण रोकिए : प्रमुख शाक्य

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले गर्न सकिने काम पनि अन्य निकायका कारणले रोकिएको बताएका छन् । काठमाडौँ महानगरपालिकाको २७ औं स्थापना दिवसका अवसरमा प्रमुख शाक्यले सो कुरा बताएका हुन् ।
काठमाडौं महानगरपालिकाले २७ औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ तीन दिन मनाउने निर्णय गरे बमोजिम आज विशेष कार्यक्रम आयोजना गरेको थियो ।

बुधबार आयोजना गरिएको विशेष कार्यक्रममा २ सय २० जना परम्परागत बाजा गुरुहरुलाई जनही ३० हजार रुपैयाँको चेकसहित सम्मान गरिएको थियो । यसै गरी व्यवसाय, बहाल र सम्पत्ति करतर्फ नियमित र धेरै कर तिर्ने करदातालाई करदाता सम्मान गरिएको थियो । यसै गरी स्थानीय सेवा पदक, महानगर गौरव पदक वितरण, साधना प्रधान अग्रणी महिला सम्मान, जनकमान श्रेष्ठ सुशासन पुरस्कार वितरण, महानगर सेवा पुरस्कार, महानगर सेवा गौरव पुरस्कारसहित सम्मान र पुरस्कार वितरण गरिएको थियो ।