‘बेथिति देखिए सशक्तरूपमा प्रस्तुत हुने कांग्रेस नेता शेखर कोइरालाको भनाई


काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी डा शेखरप्रसाद कोइरालाले पार्टीमा बेथिति भए सशक्तरूपमा प्रस्तुत हुने बताएका छन् । कोइराला समूहले आज यहाँ आयोजना गरेको महाधिवेशन प्रतिनिधिलाई धन्यवाद ज्ञापन कार्यक्रममा उनले चुनावी परिणामलाई स्वाभाविकरूपमा लिएको र स्वस्थ प्रतिस्पर्धाबाट प्रधानमन्त्री शेरबहादुर देउवा सभापति पदमा निर्वाचित भएको बताए ।
“निर्वाचन हारे पनि हामीले लिएको विचार विजयी भएको छ, हाम्रो मुद्दा स्थापित भएको छ, युवा पुस्ताका लागि हामीले अवसर खोलिदिएका छौँ, हामी कांग्रेस रूपान्तरणमा लागेका छौँ, यसका लागि फेरि जनताका घरदैलोमा जान्छौँ, आगामी महाधिवेशनमा हामी सफल हुन्छौँ”, नेता कोइरालाले भने । भागबण्डा र गुटबन्दीको राजनीतिमा नलाग्ने घोषणासमेत उनले गरे । अबको राजनीतिक यात्रा नयाँ ढङ्गले सुरु गर्नेसमेत नेता कोइरालाको भनाइ थियो ।

कांग्रेस नेता डा रामशरण महतले विधिविपरीतका धेरै काम भएकाले अब नेतृत्व सच्चिनुपर्ने बताए । कांग्रेस नेता अर्जुननरसिंह केसीले अहिलेसम्म भएका भ्रष्टाचारका घटनाको छानबिन गर्न पार्टीको यो विचार समूहले आवाज उठाउनुपर्नेमा जोड दिए । । पार्टी हुकुमी र हैकमी प्रवृत्तिबाट नभई विधिबाट चल्नुपर्ने उनको भनाइ थियो ।