भ्रष्टाचार विरुद्ध अख्तियारमा उजुरीको चाङ्ग, पाँच महिनामा ५७९८ मुद्दा


काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्ट कर्मचारीहरुका विरुद्ध उजुरीका चाङ्ग लाग्न थालेका छन् । पछिल्लो समय कमिशन माग्ने, घुस खाने कर्मचारी विरुद्ध सेवा ग्राही सचेत भएकै कारण अख्तियारमा उजुरी बढ्न थालेको छ ।

वितेको पाँच महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार विरुद्ध ५ हजार ७ सय ९८ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रेकर्डमा छ ।

वितेको पाँच महिनाको अवधि मध्ये श्रावण महिनामा नै धेरै उजुरी परेको छ । साउनमा मात्र १ हजार ६ सय ३२ भ्रष्टाचारका उजुरी परेका छन् । त्यस्तै भाद्र महिनामा १ हजार ३ सय १५, असोज महिनामा १ हजार १९, कार्तिक महिनामा ८ सय ४० र मंसिर महिनामा ९ सय ९२ वटा उजुरी परेको देखिन्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी सेवाको पदमा बसेर सेवाग्राहीहरुसँग आर्थिक लाभ लिन खोजेमा त्यसका विरुद्ध उजुरी गर्नका लागि टेलिफोनदेखि भाईवरसम्मको सुविधा दिएको छ । सोही अनुरुप भाईवर, हुलाक सेवा, मोवाईल एप्स, आयोगको वेवसाईट, इमेल, एसएमएस, टेलिफोन, फेसबुकबाट समेत उजुरी गर्न सक्ने व्यवस्था गरेपछि जनताले गुनासो र उजुरी गर्न थालेको पाईन्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार पछिल्लो समय सेवाग्राहीहरु चेतनाको बृद्धि भएको र भ्रष्टाचार विरुद्ध आवाज उठाउनु पर्दछ भन्न् सोच पलाएका कारण पनि आयोगमा उजुरीको संख्या दिन प्रतिदिन बढ्न थालेको हो ।

अघिल्ला वर्षहरुमा आयोगमा पर्ने उजुरीको संख्याका आधारमा भन्ने हो भने पनि पछिल्ला वर्ष सचेतना कै कारण उजुरी बढ्दै गएको सोही अनुरुप अनुसन्धान गर्ने, कार्वाहीका लागि सिफारिस गर्ने एव मुद्दा समेत दायर गर्ने काममा आयोग सक्रिय रहेको रिसालको भनाई छ ।