मूल्य बृद्धि फिर्ता लिन यातायात व्यवसायी महासंघको माग


काठमाडौं । कोभिड १९ को महामारीमा पनि सरकारले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।
आज विज्ञप्ति जारी गर्दै कोरोना महामारीबीच व्यवसायीले बैंक तथा वित्तीय संस्थाको ब्याज एवम् किस्ता बुझाउन नसकेको उल्लेख गर्दै गत असारदेखि हालसम्म पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् ।

“पेट्रोलियम पदार्थ प्रत्यक्षरुपमा उपभोग गर्ने यातायात व्यवसायी र आम उपभोक्ता वर्गलाई प्रत्यक्ष असर पर्ने गरी नेपाल आयल निगमले पटकपटक मूल्यवृद्धि गर्नु दुःखद कुरा हो, मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्छ,” विज्ञप्तिमा उल्लेख छ ।

पेट्रोलियम पदार्थको हालसम्म गरिएको मूल्यवृद्धि फिर्ता नलिएमा महासङ्घले थप निर्णय लिने विज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।