एमसीसीबारे समान धारणा बनाउन राजनीतिक नेतृत्वहरुबीच छलफल तीब्र

काठमाडौं । अमेरिकी सहयोग परियोजना सम्झौता एमसीसी प्रस्ताव संसदमा पेश भएपछि राजनीतिक दलहरुले आ(आफ्नो रणनीति बनाउन आन्तरिक र अन्तरपार्टी बैठक र भेटवार्ता बढाएका छन् ।

सत्तागठबन्धन दलहरुकै सहमतिमा सम्झौता प्रस्ताव संसदमा टेबुल भएपनि त्यसलाई पारित गर्ने विषयमा अझै साझा निष्कर्षमा सत्तासाझेदार दलहरु नै पुग्न सकेका छैनन् ।

संसदमा टेबुल भएको प्रस्ताव आगामी १२ गते विहिवारदेखि छलफल हुने कार्यक्रम रहेकाले पनि दलहरुलाई प्रस्तावको विषयमा आ(आफ्नो दृष्टिकोण बनाउनु पर्ने बाध्यता छ ।

सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस एमसिसी पारित गर्ने पक्षमा छ भने प्रमुख सत्तासाझेदार माओवादी केन्द्र र नेकपा एकृकृत समाजवादी जस्ताको तस्तै पारित गर्न नहुने अडानमा छन् । यता प्रमुख प्रतिपक्षी नेकपा एमाले भने सत्तासाझेदार दलको साझा निर्णयको पर्खाईमा रहेको छ ।

यसैवीच नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग एमसीसीका सम्बन्धमा छलफल गरी समान धारणा बनाउन क्रियाशील रहेका छन्।

एमसीसीबारे संसद्मा प्रतिनिधित्वमा रहेका राजनीतिक दलका सबै नेतासँग आफूले कुराकानी अघि बढाएको उनले बताए ।

यस्तै नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पत्रकार सम्मलेन गरी एमसीसी राष्ट्र हितमा भएकाले यसलाई सदनबाट पारित गरेरै छाड्ने बताउँछन् ।

उनले गठबन्धनमा आवद्ध दलहरूमा एमसीसीबारे फरक मत रहेपनि सहमतिमै प्रतिनिधिसभामा टेबल भएको बताए । उनले एमसीसीका बारेमा नियोजित रुपमा प्रचारबाजी गरिएको धारणा राखेका छन्।