पाकिस्तानी प्रधानमन्त्री र रुसी राष्ट्रपतिबीच भेटवार्ता

इस्लामाबाद। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुभएको छ । 

रुस र युक्रेनबीचको द्वन्द्वका कारण विश्वभरी नै तरङ्ग फैलिइरहेका बेला प्रधानमन्त्री खानले राष्ट्रपति पुटिनलाई रुस नै गएर भेटवार्ता गर्नुभएको हो ।

उहाँहरूका बीचमा युक्रेनसँगको सम्वन्ध र त्यसमा पाकिस्तानले खेल्ने भूमिकासँगै अन्तर्राष्ट्रिय ध्रुवीकरणलगायतका विषयमा छलफल भएको जनाइएको छ ।   

साथै आपसी सम्बन्ध, सहकार्य, दुई पक्षीय सरोकार र साझा हितका विषयमा कुराकानी भएको अधिकारीहरूले जनाएका छन् ।  

दुई दिने भ्रमणका लागि रुसको राजधानी मस्को पुग्नु भएका प्रधानमन्त्री खानले राष्ट्रपति पुटिनसँग आर्थिक विषयमा समेत छलफल गर्नुभएको छ । उहाँ बुधबार अबेर मस्कोमा उत्रिनु भएको हो । 

खानको भ्रमण टोलीमा रहनु भएका पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद क्युरेशीले पनि आफ्ना रुसी समकक्षी सेर्गेइ लाभ्रोभसँग भेटवार्ता गर्नुभएको छ ।