महिलामाथि हुने अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्रौ, राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नु पर्ने बताएकी छिन् । शुभकामना सन्देशमा परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गरी महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका निभाउन अत्यावश्यक रहेको बताएकाी छिन् ।

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा नेपालले ‘सामाजिक न्याय र लैङ्गिक समानतालाई दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय लक्ष्य तय गरेको र अभिप्राय महिलाहरूको आर्थिक, सामाजिक, संरचनात्मक रूपान्तरणद्वारा मुलुकको समृद्धि र दिगो विकासतर्फ अग्रसर रहनु हो भन्ने आफूलाई लागेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् ।

महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत कुप्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्ने यात्रामा निरन्तर लागिरहन हामी सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुन सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन् ।

स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै सन्देशमा उहाँले नेपाली जनताको दशकौँ लामो राजनीतिक आन्दोलनको प्रतिफलस्वरूप महिला सशक्तीकरणको क्षेत्रमा प्राप्त उपलब्धि विश्व महिला आन्दोलनका लागि प्रेरक मानिएका सन्देशमा उल्लेख छ ।

राष्ट्रपतिले सन्देशमा मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको नेतृत्वदायी भूमिका सुदृढ भएको छ । महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न हामीले संविधानमार्फत आधारभूत व्यवस्थाहरू गरी विभिन्न कानूनसमेत अभ्यासमा ल्याएका छौँ । पछिल्लो समयमा लैङ्गिक समानताका विभिन्न सूचकहरूमा नेपालले प्रगति गर्दै आएको देखिएकाले महिलाहरूको प्रतिष्ठा क्रमशः अभिवृद्धि हुँदै गएको बताएकी छिन् ।

विश्वमा महिलाहरुले आन्दोलनमा हालसम्म प्राप्त गरेका धेरै उपलब्धिहरूलाई संस्थागत गर्दै लैङ्गिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउदै आएका छन् ।