पर्यटकीय क्षेत्र घ्याम्पेडाँडामा ऐतिहासिक घ्याम्पो उद्घाटन

काठमार्डौ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पर्यटकीय स्थान घ्याम्पेडाँडामा निर्माण भएको पाँच हजार लिटर पानी अट्ने पर्यटकीय घ्याम्पो उद्घाटन गरिएको छ ।

ठाउँको नाम घ्याम्पेडाँडा भए पनि घ्याम्पो नुहँदा आन्तरिक पर्यटकले चासो राख्न थालेपछि ऐतिहासिकता झल्किने र पर्यटकलाई आकर्षित गर्ने लक्ष्यले निर्माण गरिएको आकर्षक घ्याम्पोको आज नेकपा एमालेका पोलिब्यूरो सदस्य एवं सङ्घीय सांसद महेश बस्नेतले उद्घाटन गर्नुभएको छ ।

भक्तपुरको विकासमा पाँचवर्षे स्वर्णयुगका रूपमा रहेको चर्चा गर्दै विकट रहेको यो क्षेत्र अहिले विकासले कायापलट भएको बताउनुभएको छ । भक्तपुरमा मात्रै आफ्नो पहलमा १५ अर्बभन्दा बढी बजेट ल्याएर यहाँको विकासबाट मुहार फेरेको भन्दै उहाँले घ्याम्पेडाँडा, रानीकोट क्षेत्र मुख्य पर्यटकको आकर्षण बनेको बताउनु भएको छ ।

करोडौँ रकम लगानी गरेर होटलहरु सञ्चालनमा आएको, होटल व्यवसायमा अर्बौ लगानी भएको, जिपलाइन लगायत सञ्चालनमा आइसकेको र प्याराग्लाइडिङ, बन्जी जम्पलगायत पनि सुरु हुन लागेको बताउनु भएको छ । पर्यटकीय रूपमा नै यहाँको जीवनस्तर उकासिने चर्चा गर्दै उहाँले भक्तपुरलाई विकासमा देशकै नमूना बनाउन सफल भएको बताउनु भउको छ ।

कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले सूर्यविनायक क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने गरी नगरपालिकाले शिव सर्किट निर्माण गरेको बताएका छन् । यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आवश्यक सडक, पूर्वाधारको विकासमा लागेको पनि बताएका छन् । नगरपालिकाका उपप्रमुख जुना बस्नेतले सूर्यविनायक नगरपालिकाको धार्मिक, पर्यटकीय विकास मात्रै नभई सडक, खानेपानी, रोजगारी, कृषि, शिक्षा, स्वास्थ्यको क्षेत्रको विकास गर्न सफल भएको बताउनुभयो ।

घ्याम्पेडाँडाको नामबाट परिचित भएकाले यहाँकोे पहिचानलाई झल्काउन र यहाँको महत्वपूर्ण पर्यटकीय क्षेत्रमा अझै पर्यटकीय आकर्षण बढाउन घ्याम्पो निर्माण गरिएको वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिएका छन् । घ्याम्पेडाँडामा नगरपालिकाको रु २० लाखको बजेट वडा नं ७ मार्फत विनियोजित गरी त्यसमा पाँच लाखको उपभोक्तामार्फत थप गरी कूल रु २५ लाखको लागतमा घ्याम्पो निर्माण गरिएको बताएका छन् ।

हेर्दा निकै आकर्षक देखिने घ्याम्पो तलैदेखि फलामको डण्डी हालेर सिमेन्टबाट पक्की रूपमा २२ फिटको उचाइमा निर्माण गरिएको बताउँदै घ्याम्पो वरिपरि र तलैदेखि सिँढी निर्माण गरेर बनाएको छ । धेरै पहिला यस क्षेत्र स्थानीय ब्राह्मण समुदायको कुस बिर्ताका नामबाट चर्चामा रहँदै पुरानो छाप नाम रहेको यस ठाउँलाई २०२१ सालको नापीपछि चिहान डाँडाको नामबाट चिन्न थालिएको थियो । विसं २०३५ पछि भने यो डाँडाको नाम घ्याम्पेडाँडा रहन गएको स्थानीयवासी बताउँछन् ।

वर्षौ पहिला स्थानीय बटुवा, गोठालाहरुले गाईवस्तुलाई पानी खुवाउनका लागि जमीनमुनि घ्याम्पो गाडेर राखिएको र उक्त पानी आवश्यताअनुसार प्रयोग गर्ने गरिएको थियो । जमीनमुनि घ्याम्पोमा पानी राख्दा जाडोमा पानी तातो हुने र गर्मीमा चिसो हुने भएकाले पनि घ्याम्पोमा पानी राखी प्रयोगमा ल्याइएको जनविश्वास रहिआएको छ ।