साउदी अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड, सन् २०१९ मा साउदी अरबमा दिइएको मृत्युदण्डविरुद्ध अमेरिकामा प्रदर्शन

काठमार्डौ । साउदी अरबले शनिवार एकैदिन ८१ जनालाई मृत्युदण्ड दिइएको बताएको छ । उक्त सङ्ख्या त्यहाँ गत वर्ष मृत्युदण्ड दिइएका मानिसको कुल सङ्ख्याभन्दा बढी रहेको छ । मृत्युदण्ड पाउनेमा ३७ साउदी,७ यमनी र १ सिरियाली नागरिक रहेका छन्।

उनीहरूलाई आतङ्कवादसहित विभिन्न जघन्य अपराधमा दोषी ठहर गरिएको सरकारी समाचारसंस्था एसपीएले जानकारी दिएको छ । उनीहरूमध्ये केहीलाई इस्लामिक स्टेट समूह आईएस अल कायदा वा यमनका हूथी विद्रोही समूहमा संलग्न रहेको आरोप लगाइएको थियो।

मानव अधिकारवादी सङ्गठनहरूले साउदी अरबमा निष्पक्ष सुनुवाइ नहुने गरेको दाबी गर्ने गरेका छन् । यद्यपि साउदी सरकारले त्यस्तो आरोप अस्वीकार गर्दै आएको छन् । एसपीएका अनुसार अहिले मृत्युदण्ड दिइएका प्रतिवादीहरूको मुद्दा १३ जना न्यायाधीशले हेरेका थिए भने, मुद्दा तीन चरणको न्यायिक प्रक्रियाबाट अघि बढेको जानकारी छ ।

अर्थतन्त्रसम्बन्धी महत्त्वपूर्ण संयन्त्रमा आक्रमण गर्न निसाना बनाएको, सुरक्षा निकायका सदस्यहरूलाई मारेको वा तारो बनाएको, अपहरण गरेको, यातना दिएको, बलात्कार गरेको र तस्करी गरेर देशभित्र अस्त्र ल्याएको जस्ता अभियोग लगाइएको बताएका छन् । इरान, उत्तर कोरिया र भियतनामजस्ता अन्य देशले पनि जति सङ्ख्यामा मृत्युदण्ड दिन्छन् त्यो सूचना लुकाउने गरेको एम्नेस्टी इन्टन्याश्नलको भनाइ रहेको छ।