अध्यक्ष र प्रधानाध्यापकसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमार्डौ । तनहुँको एक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकसहित २० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका १६ मा हिमाली प्राथमिक विद्यालयका तत्काली अध्यक्षसहित २० जनामाथि सोमबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सरकारी सार्वजनिक जग्गालाई घरसारको कागजात बनाई आफैँले घडेरी कायम गरी गैरकानुनी रूपमा भोगचलन गर्ने गराउनुका साथै बिक्री भएका जग्गामा पक्की घरसमेतका संरचना बनाउन लगाएर गैरकानुनी लाभ लिएको अख्तियारको आरोप छ । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार विद्यालय व्यवस्थापन समितिको २०५१ साल वैशाख ११ गतेको बैठकले एक लाख ६९ हजार रुपियाँ लिई उक्त सार्वजनिक जग्गा भोगचलन गर्ने गराउने निर्णय गरेको थियो ।

अनुसन्धानका क्रममा उक्त प्रकरणमा तत्कालीन अध्यक्ष यामबहादुर बानियाँ, सदस्यसचिव प्रधानाध्यापक यामबहादुर ठकुरी, सदस्यहरू घनश्याम बानियाँ, हरिकुमारी महत, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानियाँ र खडकबहादुर बानियाँको संलग्नताको पुष्टि भएको छ । मुद्दा दायर गरिएकामध्ये यामबहादुर बानियाँ, धुनबहादुर पुुलामी, ज्ञानबहादुर बानियाँ र खडकबहादुर बानियाँको मृत्यु भइसकेको छ । घनश्याम बानियाँ, यमबहादुर ठकुरी र हरिकुमारी महतमाथि उक्त रुपियाँ बराबरको बिगो मागदाबीसहित हदैसम्मको सजाय मागदाबी दिएर मुद्दा दायर गरिएको अख्तियारले जानकारी गराएका छन् ।

विष्णुप्रसाद लम्साल, शरणबहादुर विक, बलराम बानियाँ, बुद्धिमाया विक, बाबुराम बानियाँ, लोकबहादुर माकिम, सन्तबहादुर सिँजालीमगर, तिलुदेवी बराल, डोलराज आचार्य, डिलबहादुर आले, विष्णुमाया थापा, पूर्णबहादुर विक र धनबहादुर विकले एक लाख ६९ हजार ५१ रुपियाँ दिई सरकारी सार्वजनिक जग्गालाई भोगचलनसमेत गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । लोकबहादुर माकिम, डोलराज आचार्य र धनबहादुर विकको मृत्यु भइसकेकाले तीनै जनाबाहेकका हकमा कैद सजायको माग गरिएको अख्तियारले जानकारी गराएका छन् ।

सचिव दर्जी र अहेव सुवेदीले ६० लाख ९७ हजार छ सय रुपियाँ, सुरेश दवाडी र दर्जीले २७ लाख २३ हजार २ सय रुपियाँ, सुवेदी र दर्जीले ३३ लाख ७४ हजार ४ सय रुपियाँ हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धानको आरोप छ । सचिव दर्जीसहित तत्कालीन गाविसका अहेव चन्द्रकान्त सुवेदी, कार्यालय सहयोगी विशाल विक र स्वास्थ्य सहायक सुरेश दवाडीले सामाजिक सुरक्षा भत्ताबापतको रुपियाँ पनि हिनामिना गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा दाबी गरिएको छ । चारै जनामाथि कसुरको मात्राअनुसार कैद सजाय र जरिवाना माग गरिएको छ ।