महिलाहरूले शोषण र हिंसा भोग्नु भनेको दुःखदको विषय हो : उपराष्ट्रपति पुन

काठमाण्र्डौ । उपराष्ट्रपति नन्दबहादुर पुनले जलवायु परिवर्तन र कोरोना महामारीका कारण विश्वमा महिलामाथि विभिन्न प्रकारका हिंसा बढेको बताएको छ । राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, महिला गैरसरकारी संस्था महासङ्घ डब्लुएनएफ र ‘एभ्री वुमन’ नामक संस्थाद्वारा संयुक्त रुपमा आज आयोजित ‘दक्षिण एसियाली महिला सम्मेलन’ को उद्घाटन गदै उपराष्ट्रपति पुनले महामारीको समयमा अधिकांश महिलाहरु आफन्तबाटै घरेलु हिंसाको सिकार हुनुपरेको बताएका छन् ।

“पुनले भनेका छन् ,विश्वव्यापी रुपमा पछिल्लो समय बढ्दै गएको महिला हिंसा न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक छ, हरेक समाजमा महिलाहरूले शोषण र हिंसा भोग्नु भनेको दुःखदको विषय हो ।” उपराष्ट्रपतिले पुनले नेपालको संविधानले सुनिश्चित गरेको महिला तथा बालबालिका सम्बन्धी हक अधिकारको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिदै महिला सशक्तीकरणको आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नु सबै सरोकारवालाको चासोको विषय हुनुपर्ने बताएका छन् ।

महिला हिंसाविरुद्धको आवाजलाई विश्वव्यापी रूपमा उठाउँदै हिंसा अन्त्यका लागि ऐक्यबद्धता जनाउन दुई दिने दक्षिण एसियाली सम्मेलन सुरु भएको हो । सम्मेलनमा महिला अधिकारकर्मी, मानवअधिकारकर्मी, लेखक गरी विभिन्न देशका १०० जना सहभागी भएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताएका छन् । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले पछिल्लो समय अयोगमा सबैभन्दा बढी महिला घरेलु हिंसाका जन्य घटनाको उजुरी आउने गरेको जानकारी दिएकी छिन् ।