अव जनकपुर जयनगर रेल सञ्चालन हुने

काठमाडौं । लामो समयदेखि थन्किएर बसेको जनकपुर जयनगर रेल सेवा सञ्चालनमा हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेपछि रेल सञ्जालनका लागि बाटो खुल्ला भएको हो ।

मेगलबार नेपालको संविधान धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा रेल्वे अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

कानुन अभावमा प्राविधिक रुपमा सबै तयारी भए पनि रेल सेवा सञ्चालन हुन सकेको थिएन। विगत एक महिनादेखि जयनगरबाट कुर्थासम्म यात्रुविना रेल ओहोरदोहोर गरिरहेको थियो। गत फागुन १ गतेदेखि उद्घाटन नहुँदै ‘ड्रायरन’ सुरु गरिएको थियो।

फागुन १ देखि परीक्षण सफल भए पनि कानुन अभावमा सेवा सञ्चालन गर्नेगरी उद्घाटन नै हुन सकेको थिएन।

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरन्जन झाले कानुन अभावमा उद्घाटन तथा यात्रुसहित सञ्चालनको मिति तय हुन नसकेको रेल सेवा अब सञ्चालन हुने बताए।

प्राविधिक रूपमा सबै तयारी भइसकेको, कर्मचारी पनि नियुक्त भएर काममा खटिसकेको र भाडादर पनि निर्धारण भइसकेको उनले बताए।

केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन नसकी रेल चल्न सकेको थिएन। रेलका डिब्बा त्रिपालले छोपेर राखिएको थियो।