स्थानीय निर्वाचनको मतपत्र छपाईको जिम्मा सेनालाई

काठमाडौं । स्थानीय तह निर्वाचनमा मतपत्र छपाइको जिम्मा नेपाली सेनालाई दिने भएको छ । केन्द्रीय सुरक्षा समितिले पारित गरेको स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार मतपत्र छपाइ सम्बन्धी सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको गृह मन्त्रालयले जानकारी गराएको छ ।

निर्वाचन अवधिभर त्रिभुवन विमानस्थल सहितका देशभरका विमानस्थल, कारागार, महत्वपूर्ण प्रतिष्ठान र संरचनाहरूको सुरक्षामा नेपाली सेनालाई परिचालन गर्ने पनि निर्णय गरिएको छ । यसैगरी, विकट क्षेत्रमा मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री ढुवानी गर्ने जिम्मा पनि सेनालाई दिने निर्णय गरिएको छ ।

स्थानीय निर्वाचनको ३० दिन अघिदेखि सेनाले निर्वाचन क्षेत्रमा पट्रोलिङ गर्नेछ । निर्वाचनमा सेनाको बम डिस्पोजल टोली परिचालन गरिने र मतदानको दिन मतदान केन्द्रबाट बढीमा ३० मिनेटको दुरीमा सेनाका फौज तैनाथ राख्ने गरी एकीकृत सुरक्षा योजना तयार गरिएको छ ।

यस्तै, २०७९ वैशाख ३० मा हुने निर्वाचनको सुरक्षाका लागि सरकारले महत्त्वपूर्ण प्रतिष्ठान, संरचनाहरू कारागार र विमानस्थल समेतको सुरक्षामा खटिएका प्रहरी र सशस्त्र प्रहरी बललाई फिर्ता बोलाउने निर्णय गरेको बताएको छ ।

स्थानीय तह निर्वाचनमा ३ तहको सुरक्षा घेरा बनाउने निर्णय गरिएको छ । निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिने भएको छ ।