संविधान कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण हुनु पर्ने : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ । रिपोर्टर्स क्लब नेपालको २४औँ वार्षिकोत्सका अवसरमा यहाँ आज आयोजित समारोहमा शुभकामना व्यक्त गर्दै जनता समाजवादी पार्टी, नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई पूर्ण रुपमा संस्थागत गर्दै मुलुकको आर्थिक विकास गर्न र संविधान कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गरेका छन् ।

विभिन्न राजनीतिक दलका नेताहरुले संविधानको कार्यान्वयनका निम्ति आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न सबैमा अपिल गरेका छन् । राजनीतिक दलले उठाउनुपर्ने मुद्दा नेपाली मिडियाले उठाएपछि मात्रै त्यसलाई दलले उठाउने गरेका छन्, राजनीतिक नेतृत्वले गर्नुपर्ने काम नेपालमा मिडियाले उठाउने गरेको पाउँछु भ्रष्टाचार, आम जनताको विषयलाई मिडियाले उठाउँछ र हामीले पछ्याउने गरेका छौँ, त्यस अर्थमा पनि मिडियाको भूमिका महत्वपूर्ण छ । नेपालले विभिन्न देशसँग सन्तुलित सम्बन्ध बनाएर अघि बढ्नुपर्ने भट्टराईको भनाई रहेको छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको अब स्थानीय निकायको निर्वाचनमा प्रवेश गर्न लागेको सन्दर्भ उल्लेख गर्दै संविधानको कार्यान्वयनका लागि सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । व्यापारमा घाटा झनै बढेको छ, विविध खालका आर्थिक समस्या सामना गर्नुपरेको पर्दा, राजनीतिक रुपमा स्थिरता दिन नसकिएको र जनताको अदालतमा खडा हुने स्थिति भएको हुँदा आगामी चुनाबमा प्राप्त हुने जनमतले अग्रगति र स्थिरतातर्फ लैजान मार्गदर्शन गर्ने भन्दै आउने निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष ढङ्गले सम्पन्न गनुूपर्नेमा जोड दिएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालकी नेत्री तथा सांसद चन्दा चौधरीले नेताहरुलाई अब व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर देशको हितमा केन्द्रित हुन सुझाव दिइएका छन् । प्रेस स्वतन्त्रता र पत्रकारको पेसागत सुरक्षाको लागी नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले माग राखेका छन् ।