चारजना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । एकिकृत प्रवेश परीक्षामा नक्कली ४ परीक्षार्थी पक्राउ परेका छन् । चिकित्सा शिक्षा आयोग भक्तपुर सानोठिमीद्वारा सञ्चालित चिकित्सा शिक्षा स्नातक तहको परीक्षा दिइरहेका ४ जना र आफ्नो परीक्षा अरूलाई दिन लगाउने १ जना गरी जम्मा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा महोत्तरी सम्सी गाउँपालिका ४ का २२ वर्षीय अमर पण्डित, सर्लाही चक्रघट्टा गाउँपालिका ४ का २२ वर्षीय अनिकेत चौधरी, सप्तरी राजगढ गाउँपालिका १ का २६ वर्षीय राम आशिष यादव, भारत विहार रफिगञ्ज ठेगाना भएका २४ वर्षीय ईस्तियाख अहमद र महोत्तरी सम्सी गाउँपालिका ५ का २३ वर्षीय सन्नी कुमार साह रहेका छन् ।

चिकित्सा शिक्षा स्नातक तहको एकिकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थीहरूले परीक्षा दिरहेको आसंकमा महानगरीय अपराध महाशाखा प्रहरीले काठमाडौँ उपत्यका भित्र सिसिआरसि कलेज, एम्बिसन कलेज, ग्रामर स्कुल लगायतका परीक्षा केन्द्रहरूबाट उनीहरूलाई परीक्षा दिइरहेको अवस्थामा नक्कली प्रवेशपत्र र नेपाली नागरिकता सहित पक्राउ गरेको प्रहरीले बताइएका छन् ।

उनीहरूमध्ये राम आशिषलाई ग्रामर स्कुल कोटेश्वर र ईस्तियाख अहमदलाई एम्बिसन कलेज मध्य बानेश्वर, अमर र अनिकेतलाई सिसिआरसि कलेज कुमारीपाटी ललितपुरबाट, पक्राउ गरेको हो । सन्नी कुमार साहले ईस्तियाख अहमदलाई आफ्नो नाममा परीक्षा दिन लगाई आफू बाहिर बसिरहेको अवस्थामा फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।