निर्वाचनमा परिवर्तनकारी शक्ति एक भएर अगाडि बढ्ने : मन्त्री भुसाल

काठमाडौँ । गोदाबरी नगरपालिका वडा नं १४ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जनताको सङ्घर्षका बलमा प्राप्त उपलब्धि र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि अझै चुनौती रहेको बताएकी छन् ।

वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनीले प्राप्त उपलब्धि र संविधानको रक्षा तथा विकास गर्ने कार्यभार परिवर्तनकर्मी शक्तिको काँधमा आएको बताएकी छन् । राष्ट्रिय राजनीतिका चुनौतीलाई सामाना गर्न, परिवर्तनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने, त्यसलाई कार्यान्वयन गरेर समाजवादको आधार तयार पारेर जाने विषयमा वर्तमान गठबन्धनलाई निरन्तरता दिने प्रतिबद्धता दलहरुबाट व्यक्त भएको भुसालको भनाई रहेको छ ।

गठबन्धनको संस्कृतिले निर्वाचनमा मात्र तालमेल गरी विजयी हुने मात्र नभइ परिवर्तनका एजेण्डाको रक्षा, राष्ट्रियता, जनता र संविधानको रक्षा गर्ने र त्यसका चुनौतीलाई सामना गर्न गठबन्धन आवश्यक भएको मन्त्री भुसालले बताएकी छन् । परिवर्तन विरोधी शक्तिलाई परास्त गर्न गठबन्धनको आवश्यकता थियो, आसन्न स्थानीय तह निर्वाचनमा परिवर्तनकारी शक्ति एक भएर अगाडि बढ्ने उद्देश्य रहेको बताएकी छन् । ।

सात दशक लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै समाजवादको आधार तयार गरेर सामाजिक न्यायमा आधारित समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । पछिल्ला ५ वर्षको अवधिमा स्थानीय सरकारले धेरै काम सम्पन्न गरेका उल्लेख गर्दै उनीले छोटो समयमा आधारभूत संरचनाको जग बसेको बताएकी हुन् ।