अपाङ्मैत्री र ज्येष्ठ नागरिकहरुलाई छुटै निर्वाचन स्थलको तयारी

काठमाडौँ । झापामा वैशाख ३० बाट हुने स्थानीय तहको निर्वाचनमा अपाङ्मैत्री र ज्येष्ठ नागरिकमैत्री निर्वाचन स्थलको तयारी भएको छ । स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित ढङ्गले सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सुरक्षा निकायसँग समन्वय गरेर मतदान स्थलहरुको निरीक्षण र अनुगमन गर्न सुरु गरेका छन् ।

झापा जिल्लाको १५ पालिकामा रहेका २८६ निर्वाचन स्थल र ७५५ केन्द्रलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले अनुगमन गर्न थालिएको अधिकारी रिजाले बताएका छन् । उनले सोमबार पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुसँग बैठक गरी आगामी वैशाख ८ गते स्थापना गरिने निर्वाचन अधिकृतको कार्यालय व्यवस्थापन गर्न र उनीहरुलाई बसोबासको व्यवस्था मिलाउन समेत निर्देशन दिएका छन् ।

अनुगमनका क्रममा जिल्लाका थोरै निर्वाचन स्थल अतिसंवदेनशील र अधिकांश सामान्य रहेको रिजालेृ बताएका छन् । निर्वाचनमा कर्मचारी र सुरक्षाकर्मी परिचालन गर्दा अतिसंवेदनशीललाई बढी ध्यान दिने र सामान्य रहेको स्थानमा परम्परागत तरिकाले गर्न सकिने अनुगमनका क्रममा देखिएको प्रजिअ रिजालको भनाइ रहेको छ ।

निर्वाचन केन्द्रलाई ज्येष्ठ नागरिक र अपाङ्ग मैत्री बनाउँछौँ प्रमुख रिजालले भनेका छन् । धेरै जिल्लाका कतिपय मतदान केन्द्रमा अपाङ्ग मैत्री छैनन् । धेरै ह्विल चियरमा आउनुहुन्छ उनीहरुलाई मतदान गर्दा अप्ठ्यारो नपरोस भनेर अनुगमन गरी आवश्यक स्थानमा व्यवस्था गर्ने तयारी गरिरहेका बताएका छन् ।

झापाका राजनीतिक दलहरुबीचको समझदारी अन्य जिल्लामा भन्दा राम्रो रहेको हुँदा पनि निर्वाचन भयरहित हुने अपेक्षा समेत गरेको बताएका छन् । उनले भने निर्वाचनको अनुगमनका क्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीसहित गइरहेकाले अतिसंवेदनशील स्थान र अन्य स्थानमा सुरक्षा व्यवस्था कसरी गर्न सकिन्छ भन्नेमा अन्योल नरहेको बताए ।