नयाँ वर्षको सुरुआत बिस्केट बिस्का जात्रा, जात्रामा एकल फोटो प्रदर्शनी,

काठमाडौँ । राष्ट्रिय समाचार समिति राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको मध्यपुरठिमीमा बिस्केट बिस्का जात्रासम्बन्धी एकल फोटो प्रदर्शनी आजदेखि सुरु भएको छ । पर्यटन बोर्डको प्राङ्गणमा भएको उक्त प्रदर्शनी तीन दिनसम्म चल्ने छ । मध्यपुरठिमीमा हुँदै आएको जात्राका १०० भन्दा बढी फोटो प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनीमा जात्राको सुरुदेखि अन्त्यसम्मका फोटो राखिएका छन् । प्रदर्शनीको आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले संयुक्तरुपमा शुभारम्भ गरेका छन् । सो अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले मूर्त तथा अमूर्त कलाको संरक्षणमा सबैको ध्यान जानुपर्ने र भावी पुस्तालाई हस्तान्तरण गर्नु सबैको दायित्व भएको बताइएका छन् ।

काठमाडौँ महानगर सम्पदा संरक्षणमा लागि परेको छ, सम्पदा सबैको हो, यसको संरक्षण गर्न सबै नागरिक लाग्नुपर्छ”, शाक्यको भनाई रहेको छ । मौलिक परम्परा तथा जात्रालाई विश्वमा परिचित गराउँदै पर्यटनसँग जोड्नुपर्ने भन्दै, मध्यपुरठिमी नगरपालिकाका प्रमुख श्रेष्ठले नगर क्षेत्रभित्रका जात्रा, पर्वका अमूर्त कलालाई विश्व सम्पदाका रुपमा पहिचान दिलाउन नगर लागि परेको बताएका छन् । बिस्का जात्राको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पक्षमाथि प्रकाश पार्दै उनले जात्राको प्रत्यक्ष अवलोकन गर्न सबैमा अनुरोध गरेका छन् ।

मध्यपुरठिमी ४ का वडाध्यक्ष कुमार श्रेष्ठले हार्दिकता र मित्रता प्रगाढ बनाउने जात्राका रुपमा रहेको बिस्काको प्रचारप्रसार गर्न प्रदर्शनीले सहयोग पु¥याउने बताए । राष्ट्रिय विभूति शङ्ख्धर साख्वा प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले मध्यपुरठिमीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले विविध कार्यक्रम आयोजना गरिएको समेत बताएका छन् । फोटो पत्रकार श्रेष्ठले मध्यपुर ठिमीमा धुमधामका साथ मनाइने बिस्का जात्राको ऐतिहासिक र सांस्कृतिक पक्षबारे अवगत गराउन प्रदर्शनी आयोजना गरिएको बताए  ।

पत्रकार श्रेष्ठले आफूले खिचेका फोटोको प्रदर्शनी गरेर जात्राको प्रवद्र्धन गर्न खोजेको उल्लेख गरेका छन् । नगरको अमूल्य निधिका रुपमा रहेको जात्राको प्रचारप्रसार होस् भनेर प्रदर्शनी आयोजना गरेको हुँ श्रेष्ठले भने । हरेक वर्षको अन्त्यसँगै नयाँ वर्षको सुरुआतमा ऐतिहासिक महत्वको बिस्का जात्रा मध्यपुरठिमी क्षेत्रमा मनाइँदै आइएको छ । जात्रा चैत ३०, वैशाख १ र २ गते हर्षोउल्लासका साथ मनाइन्छ । चैत ३० गते विष्णुवीर देवताको जात्रा, वैशाख १ गते बालकुमारी कुहाँ बिज्याइग र सिद्धिकाली जात्रा तथा वैशाख ३ गते सिन्दुर जात्रा, ३२ खट जात्रा र जिब्रो छेड्ने जात्रा मनाइने चलन भएको बताइएका छन् ।