मन्त्री झाँक्रीद्वारा पुरातात्विक संरचनाको निरीक्षण


काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिअन्तर्गत गुजेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्विक संरचनाको आज निरीक्षण गरेकी छिन् । मन्त्री झाँक्रीले आयोजनाको काम तोकिएको समयमा सक्न पनि निर्देशन दिँदै निर्माण क्षेत्रमा रहेका सत्तलमा आश्रित रहेका परिवारहरूको व्यवस्थानबारे मन्त्रालयले सकारात्मक पहल गर्ने बताएकी हुन् ।

मन्त्री झाँक्रीले आयोजना क्षेत्र अस्तव्यस्त देखिएकाले यसबारे मन्त्रालयमा थप छलफल गरिने र अन्य सरोकारवाला निकायहरूसँग छलफल गरेर नयाँ ठाउँमा पुनःस्थापना गर्न विकल्प खोज्न सकिने समेत उल्लेख गरेकी छन् ।


सो अवसरमा अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले पहिलो क्षेत्रको काम सम्पन्न भइसकेको बताउँदै दोस्रो र तेस्रो साइट निर्माण कार्य करिब ७० प्रतिशत सकिएको र आगामी असारसम्म सम्पन्न गरिसक्ने जानकारी दिएका छन्

पुरातात्विक र सांस्कृतिक संरचना निर्माण गर्नुपर्ने आयोजना भएकाले काम गर्न अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण रहेको झाँक्रीको भनाइ थियो ।