काठमाडौं जिल्लामा ७ सय ५९ मतदान केन्द्र हुने

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय निर्वाचन काठमाडौंमा ७५९ मतदान केन्द्रबाट मतदान हुने भएको छ । काठमाडौं जिल्लामा १ महानगरपालिका र १० वटा नगरपालिकामा स्थानीय निर्वाचन हुँदैछ । काठमाडौं महानगरपालिका, कीर्तिपुर, तार्केश्वर, टोखा, बुढानिलकण्ठ, शंखरापुर, दक्षिणकाली, चन्द्रागिरि, नागार्जुन नगरपालिका, कागेश्वरी मनहरा नगरपालिका र गोकर्णेश्वर गरी ११ पालिका छन् ।

काठमाडौं जिल्लामा काठमाडौं महानगरपालिकामा ३२ वटा वडा र अन्य नगरपालिकाहरुसहित १३८ वडा रहेका छन् । चन्द्रगिरि नगरपालिका अन्तर्गत १५ वडा, बुढानिलकण्ठ नगरपालिका अन्तर्गत १३ वटा, टोखा र तार्केश्वरमा ११ वटा र कीर्तिपुर र नागार्जुन नगरपालिकामा दश वटा वडाहरू रहेका छन् । यस्तै, शंखरापुर, कागेश्वरी मनहरा, गोकर्णेश्वर र दक्षिणकाली नगरपालिका अन्तर्गत नौ वटा वडाहरू छन् ।

मतदाताको संख्याको आधारमा, बाकस र कम्प्युटरमा विवरणको व्यवस्थापन गर्नुपर्ने हुँदा, क, ख, ग, घ गरी मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय काठमाडौंका निर्वाचन अधिकारी ठाकुर शर्माले बताएका छन् । काठमाडौंमा जम्मा छ लाख ३७ हजार ७७५ मतदाता संख्या रहेका छन् ।

 राष्ट्रिय मान्यता प्राप्त गरेका दलहरु नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी हुन् । यसबाहेक स्वतन्त्र उम्मेदवार पनि छन्, तर यसको अहिले नै यकिन भइनसकेको शर्माको भनाइ छ । ११ वटै पालिकामा निर्वाचन अधिकृत तोकिसकेको र आवश्यक तालिम पनि भइसकेका कारण उनीहरु निर्वाचनको तयारीमा लागिसकेका छन् ।

काठमाडौं महानगरपालिकाले भने भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा वैशाख ८ गते बिहान १० बजे कार्यालयको उद्घाटन गर्ने जानकारी गराएका छन् ।  मुख्य निर्वाचन अधिकृतसहित काठमाडौंमा १० देखि १२ जनाको समन्वय, सम्पर्क तथा सञ्चारका लागि टिम निर्माण हुने भएको छ ।

संघीयताको सफल कार्यान्वयनको पाँच वर्षपछि निर्वाचन हुँदैछ, सबै तयारी चुस्त र दुरुस्तरुपमा अघि बढेको छ,ु शर्माको भनाई रहेको छ । १ मतदान केन्द्रमा १ निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत गरी २ जना र बाँकी १० प्रतिशत अतिरिक्त जनशक्ति पनि खटिने जानकारी गराएका छन् ।

सुरक्षा मापदण्डका विषयमा काठमाडौंमा समस्याग्रस्त मतदान केन्द्र कुनै पनि नभएको र थप स्वयंसेवक खटाएर मतदान सम्बन्धमा २ दिन तालिम पनि गर्ने तयारी भएको शर्माले बताएका छन् ।