मन्त्री भुसालद्धारा विद्युतीय स्कुटरको शुभारम्भ, एकपटक चार्ज गर्दा ५० किलोमिटरको यात्रा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नाष्ट परिसरमा आज आयोजित समारोहमा विद्युतीय स्कुटरको शुभारम्भ गरेकी छन् । विद्युतीय स्कुटर निर्माणमा नास्टको सफलता, एकपटक चार्ज गर्दा ५० किलोमिटरको यात्रा गर्न सकिने छ ।

नेपाल आयल निगमले निर्धारण गरेको मूल्यअनुसार हाल एक लिटर पेट्रोलको मूल्य १६० पर्नेभएको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेकाले पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको विकल्प खोज्नुपर्विर्नु परेको थियो । नास्टले नमूनाका रूपमा तयार पारेको सो स्कुटर नेपालको बाटो र माटो सुहाउँदो रहेको जिकिर गरिएको छ । नीति, नियम र कार्यक्रम बन्ने तर कार्यान्वयन नहुने अवस्था नेपालका लागि नयाँ नभएर चर्चामा मात्रै सीमित हुँदै आए पनि विद्युतीय सवारीसाधनको उत्पादन र त्यसलाई प्रयोगमा ल्याउने उद्देश्यका साथ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले लुम्बिनी प्रदेश सरकारको सहयोगमा विद्युतीय स्कुटर निर्माण गरेर देखाएको छ ।

खासगरी रुस र युक्रेनबीचको लडाइँका कारण लगातार इन्धनको मूल्यवृद्धि भइरहेको बेला राज्यको ठूलो धनराशि पेट्रोलियम पदार्थको खरिदमा खर्च भइरहेको हुदा त्यसलाई रोक्न पनि विद्युतीय सवारीसाधनको प्रयोगमा बढावा दिनुपर्नेमा मन्त्री भुसालले जोड दिइएकी छन् । विद्युतीय सवारीसाधन उत्पादनका लागि अन्तर्राष्ट्रियरूपमा उपलब्ध प्रविधि नेपालमा ल्याउने कि नेपालमै नयाँ खोज गर्ने भन्नेबारेमा नास्टजस्ता संस्थाले अध्ययन गरेर सरकारलाई उपयुक्त सुझाव दिन मन्त्री भुसालले आग्रह समेत गरेका छन् ।

विद्युत्को खपत वा भण्डारण गर्न सकिने वा नसकिने भन्नेबारेमा पनि उपयुक्त खोज गर्न आग्रह गर्दै भुसालले भने, विद्युतीय सवारीसाधन नेपालमा नै मेड इन गर्ने कि मेक इन गर्ने भन्नेबारेमा पनि नास्टले उपयुक्त सुझाव दिनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले विद्युतीय सवारीसाधनको प्रयोगमा बढावा दिन सकारात्मक वातावरण बनाउने विश्वास व्यक्त गर्दै मन्त्री भुसालले नेपालमा बढी भएको बिजुली, भारत तथा बङ्गलादेशमा पनि निर्यात गर्न सकिने र त्यसका लागि वातावरण बनेको बताएकी छन् ।

अन्तर्राष्ट्रिय बजारमा एकपटक चार्ज गर्दा एक हजार किलोमिटर गुड्ने विद्युतीय सवारीसाधन उपलब्ध भइसकेको छ । विद्युतीय सवारीसाधनको निर्माणमा चीन र भारत दुवै देशले ठूलो प्रगति गरिसकेका छन् । नेपालका सडकमा पनि विभिन्न नमूनाका विद्युतीय सवारीसाधन गुड्न थालिसकेका छन् ।

प्रतिष्ठानका प्रविधि सङ्काय प्रमुख एवं विद्युतीय स्कुटर निर्माण कार्यक्रमका प्रमुख डा रवीन्द्र ढकालका अनुसार नेपाली भूगोललाई सुहाउँदो मोडलको स्कुटर विकास गरिएको र व्यावसायिक उत्पादनका लागि समेत यो स्कुटर योग्य भएको बताएका छन् । प्रतिष्ठानले हालै यसको प्रोटोटाइप नमूना निर्माण गरेको हो ।

नेपालमै उत्पादनका लागि सहयोग पु¥याउने उद्देश्यका साथ जनशक्तिसमेत तयार गरिएको छ । प्रतिष्ठानले आवश्यक अध्ययनसहित सात महिनामा परिणाम निकालेको हो । एउटा स्कुटर बनाउन प्रतिष्ठानले ३ लाखभन्दा बढी खर्च गरेको छ । ठूलो मात्रामा उत्पादन गर्ने अवस्था आउँदा नेपालभित्रै न्यूनतम १ लाख ५० हजारदेखि २ लाखसम्ममा विद्युतीय स्कुटर उत्पादन गर्न सकिन्छ भएको छ ।

नेपाली बजारमात्रै होइन, उत्पादनको थलो पनि बन्नुपर्छ भन्ने सोच राखेर आफूहरूले यसमा अध्ययन गरेको उल्लेख गर्दै प्रमुख डा ढकालले विद्युतीय स्कुटर नेपालमै बनाउन सकिनेमा आफू आशावादी रहेको बताए । प्रतिष्ठानले उनकै संयोजकत्वमा प्लास्टिकबाट पेट्रोल उत्पादन गर्ने अध्ययन पनि गरेको थियो । स्कुटर निर्माणमा टिम लिडरका रूपमा प्रह्लाद गुप्ताले विशेष भूमिका निर्वाह गरेका छ ।

प्रतिष्ठानले हाल तयार पारेको स्कुटरमा २ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री राखिएको छ । हाल तयार भएको स्कुटर एक पटक चार्ज गर्दा ५० किलोमिटरसम्म गुड्न सक्छ । डा ढकालका अनुसार ब्याट्री र मोटरको क्षमता बढाउँदै जाँदा थप किलोमिटर गुड्ने बनाउन सकिन्छ । नेपाल विद्युत् प्राधिकरणले देशभर पहिलो चरणमा ५० चार्जिङ स्टेशन निर्माण गरिरहेको छ ।

निजी क्षेत्रबाट हुण्डाइले ४० वटा चार्जिङ स्टेशन निर्माण गर्दैछ भने, पछिल्लोपटक सरकारले पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनलाई विद्युतीय बनाउनका लागि कानुनी प्रबन्धसमेत गरिदिएको छ । प्राधिकरणले विद्युतीय सवारीसाधनको चार्जिङका लागि विद्युत् महसुलमा कम गरेको छ ।

काठमाडौँ उपत्यकामा निजी क्षेत्रले आफ्नै पहलमा चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । यसलाई थप विस्तार गर्नुपर्ने आवश्यकता रहेकाले प्राधिकरणले आन्तरिकरूपमा बिजुलीको खपत बढाउनका लागि विभिन्न योजना अगाडि सारेको भए पनि केही कानुनी जटिलताका कारण सोचेजति प्रगति हुननसकेको बताएका छन् ।