जुम्लामा विद्युत् प्राधिकरणले बिजुलीको लाइन काट्यो

काठमाडौँ । जुम्लामा स्थानीयवासीको अवरोधपछि विद्युत् प्राधिकरण केन्द्रले बिजुलीको लाइन काटेको छ । चन्दननाथ नगरपालिका २ र ५ कालेखोली क्षेत्रका बासिन्दाले पोल गाड्न नदिएपछि विद्युत् प्राधिकरणले बिजुलीको लाइन नै काटेको छ । समन्वयमा पोल गाड्न खोजिए पनि स्थानीयवासीले नदिएपछि केन्द्रले लाइन नै काटिदिएको हो ।

एयरपोर्ट लोड सेन्टरबाट कालेखोली क्षेत्रमा सय केभिएको विद्युत् आपूर्ति गरिए पनि पछिल्लो समय लोड धान्न नसकिएको केन्द्रका प्रमुख नरेश रावलले बताएकाा छन् । लोड व्यवस्थापनका लागि कालेखोली क्षेत्रमा ट्रान्सफर्मर राख्न दुई महिनादेखि प्रयास गर्दा पनि विवाद भएपछि बिजुलीको लाइन काटिएको र विवाद समाधान नहुञ्जेल कालेखोली क्षेत्रको बिजुली बन्द गरिएको छ । लाइन काटिएको विषयमा स्थानीय प्रहरी प्रशासन र नगरपालिकालाई पनि जानकारी गराइएको छ ।

चन्दननाथ नगरपालिका ५ का वडाध्यक्ष अर्जुनसिंह कठायतले स्थानीयवासीसँग समन्वय गरी पोल गाड्न दिने वातावरण सिर्जना गरिएको बताए । ट्रान्सफर्मर २४ नम्बर बाहिनी नजिक राख्ने कुरा बुझिएको छ । अर्के ट्रान्सफर्मर कालेखोली नजिक सार्वजनिक शौचालयको छेउछाउमा राख्न जग्गा व्यवस्थापन गर्न सकिने उनको भनाइ रहेको छ ।