निर्माण सामग्रीको विरोधमा ३ हजार ५०० आयोजनाका काम रोकियो

काठमाडौँ । निर्माण सामग्रीको विरोधमा आजदेखि करिब तीन हजार ५०० आयोजनाका काम रोकिएको छ । निर्माण व्यवसाय धराशायी भएका कारण ‘निर्माण होलिडे’ गर्नुपरेको महासङ्घका अध्यक्ष रवि सिंहले बताए । निर्माण उद्योग धराशायी भएका कारण १७ हजारभन्दा बढी व्यवसायी पेशाबाटै पलायन हुने अवस्थामा पुगेको उनको भनाइ छ । महत्वपूर्ण आयोजनाका रुपमा रहेका करिब १ हजार ५०० को काम भने हाल जारी रहेको अध्यक्ष रविले बताएका छन् । निर्माण होलिडे’ आजदेखि सुरु गरिए पनि यही वैशाख १३ गतेदेखि ७७ वटै जिल्ला प्रशासन कार्यालय र सातवटै प्रदेशस्थित मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिइनेछ ।

नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले काम गर्नसक्ने वातावरण नभएको भन्दै निर्माण होलिडेको काम सुरु गरेको छ । निर्माण उद्योग पछिल्लो समयमा निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनका केही त्रुटिपूर्ण बुँदा, बीमा निर्देशिका २०७८ का प्रावधान लगायतका कारण समस्यामा परेको महासङ्घले जानकारी गराएको छ ।

निर्माण उद्योग धराशायी हुँदा समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने भएकाले समस्या समाधानका लागि सरकारसँग माग गरिएको महासङ्घको भनाइ छ । यसअघि सरकारको ध्यानाकर्षण गराई समयसीमा तोक्दासमेत माग पूरा नभएकाले आन्दोलनमा उत्रन बाध्य हुनुपरेको महासङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । मूल्यवृद्धि समायोजन गर्न, सार्वजनिक खरिद नियमावली २०७८ को ११ औँ संशोधनमा रहेका अमिल्दा बुँदा परिमार्जन गर्नुपर्ने र बीमा निर्देशिका २०७८ खारेज हुनुपर्ने माग गरिएको महासचिव रोशन दाहालले बताए ।

अनौपचारिकरुपमा धर्नाका कार्यक्रम भने महासङ्घले बिहीबारदेखि नै सुरु गरिसकेको छ । बिहीबार र शुक्रबार सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा १ १ घण्टामा शान्तिपूर्णरुपमा धर्ना दिइएको थियो । स्थानीय तहको निर्वाचनको समय भएकाले १३ गतेदेखि आन्दोलन नै गर्नु नपर्ने गरी माग पूरा गर्न महासङ्घले सरकारसँग माग गरेको छ ।