म्याग्दीमा तीन वर्षपछि सडक कालोपत्र

काठमाडौँ । म्याग्दी सदरमुकामस्थित बेनी नगरपालिका ७ मङ्गलाघाटमा ठेक्का लिएको तीन वर्षापछि सडक कालोपत्र गरिएको छ । मङ्गलाघाटदेखि हाडेभिर हुँदै बगरफाँट जोड्ने १ हजार ४०० मिटर लामो सडक कालोपत्र गर्न तीन वर्ष लागेको छ । सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको उक्त योजना देव एण्ड सायर, बिएन, त्रिशक्ति जेभीले ५ करोडमा ठेक्का लिएको थियो । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७५ माघमा सम्झौता भएको हो । सम्झौताअनुसार २०७७ माघमै काम सकिनुपर्ने थियो ।

मङ्गलाघाटको तल्लो बजार क्षेत्रमा २०० मिटर सडक ढलान २०७५ साउनमै गरिएको थियो । निर्माण कम्पनीका प्रतिनिधि रोहन श्रेष्ठले मङ्गलाघाटमा कालोपत्र गरिसकेको र केही दिनमा हाँडेभिरदेखि बगरफाँटतर्फको सडक पनि कालोपत्र गरिने बताएका छन् । सम्बन्धित कार्यालयले पर्याप्त बजेट व्यवस्थापन गर्न नसकेको आयोजनामा व्यवसायीको लापरबाही र ढिलासुस्ती रहेको मङ्गलाघाटवासी सुवासकुमार श्रेष्ठले बताएका छन् , सडक कालोपत्र नहुँदा मङ्गलाघाटका बासिन्दालाई हिलो र धुलोले सास्ती भएको बताए । अहिले कालोपत्रसँगै हिलो र धुलोको समस्या भने हटेको बताएका छन् ।

हाडेभिर बगरफाँट भकिम्ली, सिंगा र बरङ्जालाई सदरमुकाम बेनीसँग जोड्ने सडकको मुख्य नाका हो । निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले कोरोना महामारी र निषेधाज्ञाका कारण पटकपटक प्रयास गर्दा पनि काम गर्न नपाउँदा ढिलाइ भएको बताएका छन् । उनले सडक निर्माण र कालोपत्र गरे पनि सम्बद्ध कार्यालयले बजेट विनियोजन नगरेको हुँदा समस्या भएको बताए । हाँडेभिरदेखि बगरफाँटसम्म नाली बनाउने, सडक फराकिलो र पर्खाल लगाउने काम ससम्पन्न स्थानीय बासीि श्रेष्ठले बताएका छन् ।