दहचोकमा नबिल बैंकको शाखा शुभारम्भ

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका १ स्थित दहचोकमा नबिल बैंकले आफ्नो शाखा विस्तार गरेको छ । अहिले बैँकको शाखा १४८ तथा एटिएम सेवा १८७ पुगेको छ । २०४१ असार १२ गते स्थापना भएको सो बैँकले यस वर्ष १५४ शाखा पु¥याउने लक्ष्य रहेको छ ।

चन्द्रागिरी नगरपालिकाका कार्यकारी अधिकृत निरज पौडेल र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले संयुक्त रुपमा आज यहाँ आयोजित कार्यक्रममा शाखा शुभारम्भ गरेका छन् । समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले स्थानीय समुदायका घर दैलोमा नै बैँकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन शाखा विस्तार गरिएको जानकारी दिए ।

विभिन्न बैंक मर्ज गरेर बैंकको सेवालाई अझै विस्तार गर्ने अभियान जारी रहेको प्रमुख अधिकृत शाक्यको भनाइ छ । क्यासलेस’ अवधारणा अनुसार घरमै बसेर नागरिकले सेवा पाउने वातावरण निर्माणमा बैंक लागेको बताउदै सेवाग्राहीको पहिलो रोजाइको बैँक बनाउने अभियानमा लागेका बताए ।

गत वर्ष युनाइटेड फाइनन्सलाई समाहित गरेको बैंकले एनबी बैंक मर्ज गरी थप सेवा दिने तयारी गरेको बताएको छ । चन्द्रागिरिका प्रमुख प्रशासकीय अधिकृत पौडेलले ३६ हजार घरधुरी र १ लाख ३५ हजार जनसङ्ख्या रहेको नगरमा वित्तीय क्षेत्रको माग बढ्दो क्रममा रहेको बताएका छन् । उनले भने, बैँकले गुणस्तरीय वित्तीय सेवा प्रवाह गरेमा सेवाग्राहीको मन जित्न सक्छ । यसका लागि व्यवस्थापन पक्षले ध्यान दिनुपर्छ ।

मुलुकमा आधुनिक बैंकिङ सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता महसुस गरेर स्थापना भएको नबिल बैंक जनताको विश्वासिलो बैंकका रूपमा रहेको बैंकका नायब महाप्रबन्धक कृष्णदत्त भट्टराईले दाबि दाबी गरेका छन् । उनले भने, बैंकले विदेशमा भएको तर नेपालमा सेवा नभित्रिसकेको अवस्थामा क्रेडिट कार्डका व्यवस्थालगायत आधुनिक वित्तीय सेवा भित्र्याउन सफल भएको बताए । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका निवर्तमान नगर प्रमुख घनश्याम गिरीको उपस्थिति रहेको थियो ।