काठमाडौँ उपत्यकाको फोहर फेरि सडकमै

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहर फेरी सडकमै थुप्रिएको छ । पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य पुनःरोकिएको छ । उक्त राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारद्वारा पटकपटक काम रोकिँदा काठमाडौँ उपत्यकाको नागरिकहरुलाई समस्या भएको छ ।

हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण विगत छ दिनदेखि सडकमै फोहर रोकिएको छ । पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनःकाठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य रोकिएको हो ।

२०७० सालदेखि सुरु गरिएको सडक हालसम्म पनि सम्पन्न नभएपछि स्थानीयको पटकपटकको अवरोधका कारण फोहर विसर्जनमा अवरोध हुँदै आएको वातावरण विभाग प्रमुख सरिता राईले बताएका छन् । अठार स्थानीय तहको फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको प्रमुख राईले बताएका छन् ।

राईले भने, यस विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ । त्यसका लागि बाटो छिटो मर्मत गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ । उक्त स्थान भरिएकाले फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो । हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जनाउदै आएको छ ।

हरेक दिन उपत्यकाबाट १ हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् ।