स्थानीय चुनावले बढायो होटल रेष्टुराँमा व्यापार

काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा व्यावसायिक क्षेत्रमा निकै चहलपहल बढ्न थालेको छ । विभिन्न पाटिहरुले मत माग्ने क्रममा कार्यक्रम गर्दा मुख्यरुपमा होटल र रेष्टुराँका व्यापार बढ्न थालेका छन् ।

स्थानीय तहको निर्वाचन भएकाले गाउँ टोलमा रहेका होटल रेष्टुराँदेखि सहरका ठूला होटल रेष्टुराँमा व्यापार बढेको पाइएको छ । जिल्लाका पर्यटन व्यवसायी उद्योग परिसङ्घ बागमती प्रदेशका अध्यक्ष भेषराज दुवाडी निर्वाचनको चहलपहल सुरु भएको बताएका छन् । उनले भने ऋण धन गरेर पनि उम्मेदवारले खर्च गर्ने हुँदा यसले बजार व्यवसायलाई चलायमान बनाउँछ । बैंक र वित्तीय क्षेत्रभन्दा बाहिर रहेका नगद रकमसमेत निर्वाचनमा आउने अनुमान रहेको उनको भनाई छ । अहिले चहलपहल भएको नतिजा निर्वाचनपछि देखिन्छ । होटल रेष्टुराँमा ग्राहक थपिएका दुवाडीले बताएका छन् ।

चितवनको उद्योग वाणिज्य सङ्घका अध्यक्ष चुननारायण श्रेष्ठले आर्थिक क्षेत्र चलायमान हुन थालेको बताएका छन् । बजारको चहलपहल कम भएकोमा क्रमशः बढ्दै गएको श्रेष्ठले बताएका छन् । होटल रेष्टुराँको व्यापार बढेसँगै यसको प्रत्यक्ष प्रभाव उत्पादन क्षेत्रमा पर्ने श्रेष्ठको भनाइ रहेको छ । निर्वाचनको समयमा पैसा बजारमा आउँदै गर्दा समग्र अर्थतन्त्रमा यसको लाभ पुग्छ । विगतका निर्वाचनमा पनि चलायमान हुने गरेको भन्दै उनले चुनावको मिति नजिकिँदै गर्दा बजार थप चहलपहल बढ्ने बताएका छन् ।

स्थानीय तहको निर्वाचन तयारीमा चअलपहल हुँदा बजारमा  कुखुराजन्य उत्पादनको माग बढ्न थालेको छ । मुख्यरुपमा अण्डा र मासुको माग बढेको व्यवसायीहरुले बताएका छन् । पोल्ट्री व्यवसायी शङ्कर कँडेलको भनाइमा अण्डा र मासुको माग बढेको छ । बीचको समयमा कुखुराजन्य पदार्थको माग घट्दा मूल्यमा कमी आएको थियो । अब क्रमश पूर्ववत् अवस्थामा अण्डाको मूल्य फर्कने अवस्थामा रहेको छ । 

बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि बढेको व्यवसायीले बताएका छन् । अण्डा उत्पादक कृषक मदन पोख्रेलले यसअघि प्रतिक्रेट रु ३३० मा बिक्री हुँदै आएको अण्डा आजदेखि रु ३८० मा बिक्री हुन थालेको बताए । अण्डा दिए पछि बिक्री गर्ने माउ कुखुरा प्रतिकिलो ११० बाट  १५० पुगेको छ । बजारमा कुखुराको मासुको अभाव हुन थालेको व्यवसायीले बताएका छन् ।