नेकपा एमाले र काँग्रेसको कार्यकर्ताबीच झडप

काठमाडौँ । स्थानीय तहको निर्वाचन प्रचारको क्रममा पाल्पामा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष विष्णुप्रसाद रेग्मीले विज्ञप्ति निकालेर कालीगण्डकी करिडोर सडकमा दिउँसो ३ः३० बजेतिर काँग्रेसको झन्डा सहितका १ सय २० जना जतिको समूह आएर चुनाव प्रचार गरिएकामाथि कुटपिट गरेको दाबी गरेका छन् ।

नेपाली काँग्रेसका रामपुर नगरपालिका सभापति नेत्रप्रसाद भट्टराईले पनि विज्ञप्ति जारी गर्दै बिहान ८ बजे एमालेका वडा नं १० का वडा अध्यक्ष पदका उम्मेदवारका छोरा भारतीय सेनामा कार्यरत सन्दिप नाथको नेतृत्वको समूहले नेपाली काँग्रेसका कार्यकर्ताहरुमाथि साङ्घातिक हमला गरेको दाबी गरेका छन्

स्थानीय तहको निर्वाचनमा भएको घटनामा दुवै दलले कुटपिटपछि भएको भौतिक र मानवीय क्षतिको क्षतिपूर्ति भराउन माग समेत गरेका छन्, भने यसको दोष भने दुवै पार्टीले एकअर्कालाई लगाएका छन् ।