आधुनिक हतियार आउन थालेपछि आरन पेशा सङ्कटमा

काठमाडौँ । बागलुङ जिल्लामा आरन पेशा सङ्कटमा पर्दै आएको छ । दैनिक २० देखि ३० व्यक्तिले आरनमा सेवा लिन आउने अहिले भने आरनको सेवा लिन आउने नै घटेका छन् । खेती किसानी छाडेर बजारमा बस्ने भएपछि आरन पेशा सङ्कटमा पर्दै गएको छ । कुनैबेला बमबहादुर विश्वकर्माको आरनमा धेरै व्यक्ति आउँथे । अहिले आरनमा ल्याउने सामान नै नभएको बताउछन् ।

बागलुङ नगरपालिका–१ रामरेखाका ६३ वर्षीय बमबहादुर विश्वकर्माले यस्तो अवस्था अनुभव गरेको बताए । अनुभव मात्र होइन उनले आफ्नै जीवनमा पुख्र्यौली पेशाले खानै नपुग्ने अवस्था ल्याएको गुनासो गरेका छन् । उनको आरन पेशाबाटै घरपरिवार चलेको थियो । अहिले आरानमा कोही नआएपछि कमाइ घट्दै गयो । त्यही पेशाले परिवार पाल्नुपर्ने बाध्यता छ ।

अहिले दिनमा जम्मा ५०० सम्म कमाइ हुन्छ, अन्न भने पाइदैन, विश्वकर्माले भने, किनेर खानुपर्छ, यो पेशाको भरमा बाँच्न गाह्रो भइसक्यो । यो पेशाबाटै उनले ४ छोरा र २ छोरी हुर्काएको बताए । तर अहिले समस्या बढ्दै गएको छ । विश्वकर्माले भने, पेशा छाडौँ खान केही छैन, नछाडौँ कति दुःख गरिरहने हुँदा पुख्र्यौली पेशा बाहेक अन्य काम पनि नजानेको बताए । परम्परागत रुपमै उनले फलाम ल्याएर हँसिया, कुटो, कोदालो, खुकुरी र दाउ बनाउदै आएको बताए ।

पछिल्लो समय कोइलासमेत नपाउँदा काममा अप्ठ्यारो भएको विश्वकर्माले गुनासो गरेका छन् । पहिला जङ्गलमा गएर कोइला तयार पारिन्थ्यो, अहिले जङ्गल जान पाइँदैन । उनले भने, बजारको कोइला किन्दा महँगो पर्छ । घरमा कमाइ घटेको र छाक टार्न धौधौ भएपछि उनका छोरा खाडीमुलुक गएका छन् । कमाइ नभएकोले ऋण तिर्न सास्ती भएको उनले गुनासो गरेका छन् ।

बजारमा आधुनिक र बनिबनाउ हतियार आउन थालेपछि उनको जस्तै धेरैको पेशा सङ्कटमा पर्दै गएको छ । “खेतीपाती गर्नेको सङ्ख्या घट्दै गएको छ, कुटो कोदालोको प्रयोग पनि घट्दै गएको छ । पुख्र्यौली पेशा सङ्कटमा पर्ने भयो विश्वकर्माले गुनासो गरेका छन् ।