बत्तीस दललाई स्पष्टीकरणको माग, स्पष्टीकरणमा स्थापितको जवाफ

काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय तहको जिर्वाचनको तयारी माा प्रमुख राजनीतिक ठुलादलहरूले नै निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको पाइएको छ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन प्रकरणमा मागेको जवाफमा प्रमुख राजनीतिक दलकै सङ्ख्या बढी रहेको छ ।

निर्वाचन आयोगले नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकामा प्रमुख पदका उम्मेदवार केशव स्थापितलाई आचारसंहिता उल्लङ्घनसम्बन्धी दुई घटनामा अलग अलग जवाफ मागेको थियो । स्थापितले आयोगलाई बुधबार नै जवाफ पठाएको छ । दुवै स्पष्टीकरणमा स्थापितले एकनासकै जवाफ बुझाएको छ ।

आयोग स्रोतका अनुसार स्थापितले बुझाएको जवाफमा भनिएको छ, “आफ्नो कुरा स्पष्ट राख्ने क्रममा आफूले बोलेको कुराले कसैको चरित्रहत्या, मानहानी हुने भन्न मिल्दैन । आयोगले प्रमुख पदका उम्मेदवार स्थापितसँग महिलालाई दुरुत्साहन हुने तथा अर्का उम्मेदवार बालेन शाहलाई होच्याउने गरी अभिव्यक्ति दिएको सम्बन्धमा चौबीस घण्टाभित्र जवाफ मागेको थियो ।

आयोगले राजनीतिक दललाई पटक पटक आचारसंहिताको पूर्ण पालनाका लागि आग्रह गर्दै विशेष निर्देशनसमेत जारी गर्दै आएको छ । आयोगले जवाफ मागेकामा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् । आचारसंहिता उल्लङ्घनका घटनामा प्रमुख राजनीतिक दल मुछिने क्रम घटेको छैन ।

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले ३२ दल, उम्मेदवार तथा पदाधिकारीसँग जवाफ मागिएको जानकारी दिइएका छन् । उनले ५ जनाको जवाफ अझै नआएको जानकारी गराएको छ । पछिल्लो पटक आयोगले नेकपा एमाले र नेपाली काँग्रेसलाई चुनावी प्रचारप्रसारको क्रममा बालबालिकाको प्रयोग गरेको सम्बन्धमा सो दलसँग जवाफ मागेको हो ।

निर्वाचन आचारसंहितामा १८ वर्ष उमेर नपुगेका बालबालिकालाई चुनाव प्रचारप्रसारमा प्रयोग गर्न नहुने व्यवस्था गरेको छ । आयोगले आचारसंहिता जारी गरेको दुई दिन नबित्दै उल्लङ्घनको घटनामा नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दल तथा गण्डकी प्रदेशका सभामुखलाई चित्तबुझ्दो जवाफ बुझाउन निर्देशन दिएको थियो । सबैले छुट्टाछुट्टै जवाफ पठाएपछि आयोगले सचेत गराउने निर्णय गरेको हो । निर्वाचन आयोगले चैत २५ गतेदेखि आचारसंहिता लागू गरेको थियो ।