लोप हुने अवस्थामा गधा, नेपालमा पहिलो पटक गधा दिवस मनाइँदै

काठमाडौँ । नेपालमा पहिलो पटक गधा दिवस मनाइँएको छ । परापूर्वकालदेखि नै कृषि र ढुवानी प्रयोगका लागि महत्वपूर्ण जनावरका रूपमा रहेको गधा संरक्षणबारे सचेतना जगाउन मे ८ मा विश्व गधा दिवस मनाइँदै छ । नेपालमा यस दिवसका सम्बन्धमा सरकारी तवरमा कुनै कार्यक्रम नभए पनि गैरसरकारी संस्थाहरूले भने दिवस मनाउन सुरुआत गरेका छन् ।

वरिष्ठ पशु चिकित्सक डा अतिषकुमार यादवले गधाप्रति अति सहनशील बानी र संरक्षणबारे सचेतना ल्याउन, उपचारसहित बासस्थान व्यवस्था र गधाबारे अध्ययन गर्ने गरी विश्वमा पुनःस्थापना केन्द्र खुल्ने क्रम पनि बढेको बताएका छन् । उनका अनुसार अश्व प्रजातिमा घोडा, गधा र जेब्रा पर्छन् भने खच्चड हाइब्रिड हो । भाले गधा र पोथी घोडीको सङ्सर्गबाट खच्चड जन्मिने हो । घोडा र खच्चडको तुलनामा गधालाई भने कम महत्वले हेरिन्छ । नेपालका दुर्गम पहाडी भू–भागमा सामान ढुवानी गर्न र इँटाभट्टामा इँटा बोक्ने काममा बढी प्रयोग हुँदै आएको छ ।

सडकमा लावारिस छोडिएका गधालाई उद्धार गरी उपचार र स्याहार गर्न तथा सचेतनाका लागि भनेर एनिमल नेपाल संस्थाले ललितपुरमा डुकुछाप डङ्की सेन्चुरी नाममा गधा पुनःस्थापना केन्द्र स्थापना गरेको छ । सो संस्थाले साताभरि नै विभिन्न कार्यक्रम गरी यो दिवस मनाएको संस्थाका कार्यकारी निर्देशक हरिप्रसाद जोशीले जानकारी दिइएका छ् ।

गधा कृषि, उद्योग तथा अन्य व्यवसायको क्षेत्रमा भारी बोक्ने काममा प्रयोग गरिन्छ । घाइते र कमजोर अवस्था भएमा वा जीवनको अन्तिम अवस्थामा लावारिस र दुर्दशामा देखिने गधाको उपचार, हेरचाह र बासस्थान विषयमा सचेतना जगाउन दिवस मनाउन सुरु गरिएको हो ।