९ करोड मूल्य बराबरको आईपीओ खुल्यो

काठमाडौँ । कास्कीमा हिमालयन हाइड्रोपावर लिमिटेडले ९ करोड मूल्य बराबरको आईपीओ खुलाएको छ । हाइड्रोपावरले सर्वसाधारणको लागी ९ लाख कित्ताको आईपीओ बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्कीका स्थानीय बासिन्दाहरुका लागि आईपीओ खुलाएको हो ।

कम्पनीको जारी पुँजीमा १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत अर्थात् ९ लाख कित्ता सेयरको प्राथमिक बिक्री खुला भएको कम्पनीले जानकारी गराएको छ । सो कम्पनीको आईपीओमा कम्तीमा १० देखि अधिकतममा १ लाख कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सकिने रहेको छ ।

कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र कास्की मादी गाउँपालिका वडा नम्बर १, २, ३, ४, ६ र ७ का स्थानीय बासिन्दाहरुले जेठ ८ गते आवेदन दिन सक्ने छन् । तोकिएको समयभित्र सबै सेयर खरिदमा आवेदन नपरे ढिलोमा जेठ २३ गतेसम्म आईपीओ निष्कासन खुला रहने छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

ग्लोबल आइएमई बैङ्कका लेखनाथ र न्यूरोड कास्की, माछापुच्छ्रे बैङ्कको मादी, मुक्तिनाथ विकास बैङ्कको काहुँखोला, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, अमरसिंह, बुढीबजार र गरिमा विकास बैङ्कको सभागृह, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी गराएको छ ।