परियारका हत्यारालाई कारबाही गर्न माग

काठमाडौँ । स्थानीय चुनावको प्रचारप्रसारको क्रममा धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्यामा संलग्नलाई कारवाहीको माग गरिएको छ ।

नेपाली कांग्रेस चितवन, नेपाली कांग्रेस भरतपुर महानगर समिति, नेपाली कांग्रेस प्रदेश क्षेत्र कार्यसमिति, नेपाल दलित सङ्घ, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुणदलले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालद्वारा जारी विज्ञप्तिमा निर्वाचनको प्रचारप्रसारमा खटिएका युवामाथि भएको आक्रमण र हत्याको घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न माग गरिएको छ । निर्वाचनको प्रचारको सिलसिलामा खटिएका युवामाथि सुनियोजित तरिकाले साङ्घातिक आक्रमण गरी निर्मम तरिकाले हत्या भएको घटनाप्रति नेपाली कांग्रेस स्तब्ध एवं मर्माहत भएको विज्ञप्तिमा भनिएको छ ।

भरतपुर महानगरपालिका ७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी परियारको हत्या गरिएको थियो । आइतबार साँझ ८ बजे भरतपुर ७ कृष्णपुरको नगर प्लटिङ्गमा अज्ञात समूहको आक्रमणबाट भरतपुर १२ मिलनचोक बस्ने अन्दाजी ३० वर्षीय परियारको मृत्यु भएको हो । परियारको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त घटनाको यथाशीघ्र सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा सजाय गर्न सम्बन्धित निकायलाई माग गरेको छ ।