कास्कीमा मौन अवधिका लागि अनुगमन प्रभावकारी

काठमाडौँ । भोलि हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लामा मौन अवधिको अनुगमन प्रभावकारी बनाइएको छ । मौन अवधिमा निर्वाचन अचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने गतिविधि नहोस् भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनुगमनलाई प्रभावकारी बनाएको सूचना अधिकारी निल पनेरुले जानकारी दिइएका छन् ।

मौनअवधि सुरु भएपछि पैसा बाँड्न खोजिएको, सामाजिक सञ्जालमार्फत मत मागिएको जस्ता विषयमा मौखिक उजुरी आउने गरेको भन्दै उनले त्यस सम्बन्धमा अनुगमनलाई तीव्र बनाइएको जानकारी दिइएका छन् । मतदान गर्ने समय नजिकिँदै गरेका अवस्थामा आचारसंहिता विपरीत मतदाता प्रभावित गर्न हुनसक्ने पैसाको चलखेललगायतका गतिविधि रोक्न आज सबै सुरक्षा निकाय, निर्वाचन एवं प्रशासनका पदाधिकारी सहितको टोली अनुगमनका लागि परिचालन हुने उनले जानकारी दिए ।

अनुगमनका लागि करिब २० गाडी परिचालन गर्ने तयारी गरिएको बताएका छन् । कास्की जिल्ला भूगोलका दृष्टिले देशकै ठूलो पोखरा महानगरपालिकासहित चार वटा गाउँपालिका माछापुच्छे, मादी, रुपा र अन्नपूर्ण छन् । स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७१२ जना मतदाता छन्,भने अन्नपूर्ण गाउँपालिकामा २० हजार ३४८ जना मतदाताले भोट हाल्ने भएको छ ।

माछापुच्छे गाउँपालिकामा २० हजार ३१६, मादी गाउँपालिकामा १८ हजार ७८२ र रुपामा १४ हजार ६७५ मतादाता छन् । निर्वाचनका लागि जिल्लामा ३३६ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जानकारी गराएको छ ।