निर्वाचनका कारण सुनसान बने काठमाडौँ उपत्यकाका सडक

काठमाडौँ । भोली हुने निर्वाचनका कारण काठमाडौँ उपत्यकाका सडक सुनसान जस्तै भएको छ । उपत्यका भित्रिने सवारी प्राय छैन भने बाहिरिने सवारी साधनको चाप अझै देखिएको छ । मतदाताहरु काठमाडौँको कलङ्की, बालाजु, कोटेश्वर, बल्खु, गौशालालगायत विभिन्न नाकाबाट गाउँ फर्किने क्रम जारी रहेको छ । उपत्यकाभित्र पनि न्यून मात्रामा सवारीसाधन सञ्चालन छ । अघिपछि जाम हुने थापाथली, सिंहदरबार, त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, गौशाला, कलङ्कीलगायतका चोक प्रायः खुला जस्तै रहको छ ।

काठमडौँ उपत्यकालगायत मुलुकका मुख्य सहरबाट मतदाताहरु आफ्नो स्थानमा केन्द्रित भइरहेका छन् । काम विशेषले गाउँ छाडेका धेरै मतदाता गाउँफर्किसकेका छन् । यस अघि जान नपाएका मतदाताहरुको फर्किने लर्को आज पनि उपत्यकाका नाकाहरुमा सजिलै देखिएको छ ।

यही २१ देखि २८ गतेसम्म ५ लाख ५० हजार बढी यात्रुले उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालनरसिंह रानाले जानकारी दिएका छन् । बुधबारमात्रै ८३ हजार नागरिकले काठमाडौँबाट उपत्यका छाडिसकेका प्रहरीले जानकारी गराएको छ ।

अधिकांश मतदाता राजनीतिक दलले व्यवस्था गरेको यातायातका साधनबाट गाउँ फर्किएका छन् भने कतिपय भाडाका सवारीसाधन र निजी गाडीमासमेत गइरहेका देखिएका छन् । मत हाल्ने दिन सरकारले सार्वजनिक बिदा दिएको, अर्को दिन शनिबार परेको र जेठदेखि हप्ताको २ दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयअनुसार आइतबार र सोमबारसमेत बिदा परेकाले पनि नागरिकहरु केही दिनको छुट्टी लिएरै गाउँ फर्किएका छन् ।

आज राति १२ बजदेखि सवारीसाधन सञ्चालन गर्न नपाउने भएकाले पनि यसअघि जान नपाएका मतदाता आज साँझसम्म फर्किने तरखरमा रहेका छन् । यसपाली निर्वाचनमा एक करोड, ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन् । आजसम्म १८ वर्ष पूरा भएका नागरिकले मतदान गर्न पाउने छन् ।

मुलुकका ७५३ स्थानीय तहको निर्वाचनमा कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ । सरकारले २ हजार ९४६ अतिसंवेदनशील, ४ हजार ४२३ संवेदनशील र ३ हजार ३८७ मतदानस्थल कम संवेदनशील भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ ।

मुलुकभर प्रचारप्रसारसहित मतदाता प्रभावित पार्ने गतिविधिमा रोक लगाइए पनि सार्वजनिक समाचारमा उल्लेख भएअनुसार आचारसंहिता विपरितका गतिविधि छिटफुट रुपमा भइरहेको छ । मङ्गलबार राति १२ बजेदेखि लागू हुनेगरी मौन अवधि सुरु भइसकेको छ भने अन्तर्राष्ट्रिय सीमा नाकासमेत बन्द गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी आज बिहान नाकाबाट बाहिर जाने यात्रुको सङ्ख्या बढी देखिए पनि क्रमशः न्यूनीकरण हुँदै गएका र घर फर्किने क्रम भने रातिसम्मै चल्ने देखिएको बताएका छन् । उनका अनुसार हिजोअस्तिको तुलनामा उपत्यकामा सवारीका चाप न्यून रहेको छ ।