जनताले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ पूरा गर्न वरिष्ठ नेता पौडेलको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन भावनालाई आत्मसात गर्दै क्रियाशील बन्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशमा कार्यसमितिद्वारा कांग्रेसका तर्फबाट नवनिर्वाचित प्रमुख तथा उपप्रमुखको सम्मानमा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रम भएको छ । उक्त कार्यक्रममा सम्बोधन गर्दै पौडेलेले जनताले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ पूरा गर्न आग्रह गरेका छन् ।

गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै नेता पौडेलले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासनका लागि गठबन्धन भएको स्पष्ट पारेका छन् । गठबन्धनका परिणाम सकारात्मक देखिएको भन्दै उनले आगामी प्रदेश तथा सङ्घीय निर्वाचनसम्म नै गठबन्धनलाई अझै बलियो बनाएर लैजाने बताए ।

कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रत्येक नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यकाललाई जनताले आशा एवं भरोसा गर्ने किसिमको बनाउनुपर्नेमा जोड दिए । आफ्ना पालिकामा अन्यका लागि पनि उदाहरणीय बन्ने गरी काम गर्न उहाँले नवनिर्वाचितलाई आग्रह समेत गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनतालाई केन्द्रमा राखेर नवनिर्वाचित जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिएका छन् ।

पूर्वमुख्य सचिव डा सोमलाल सुवेदी र पूर्व सचिव बाबुराम आचार्यले नवनिर्वाचित जनप्रतिनिधिलाई आफ्ना कार्य अनुभवसहित गर्नसकिने कामलगायतका विषयमा प्रशिक्षण दिएको थियो । कार्यक्रममा कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ, कांग्रेस बागलुङका सभापति जित शेरचनलगायतले जनताले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ बहन गर्दै काम गर्नुपर्नेमा जोड दिएका छन् ।