आर्थिक वर्षको बजेटमा नीतिगत विषय समावेश भए पनि नेप्सेमा उच्च अङ्कको ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारको सुधारका सन्दर्भमा केही नीतिगत विषय समावेश भए पनि बजारले भने सकारात्मक सङ्केत गरेको छैन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५०.३३ अङ्कले ओरालो लागेर २ हजार १७३.४४ मा ओर्लिएको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.३३ अङ्कले ओरालो लागेर ४२२.७४ मा ओर्लेको छ । कूल २ सय २७ कम्पनीको ३४ लाख ५६ हजार ५ सय २९ कित्ता शेयर रु १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार २ सय ८२ मूल्यमा खरिद बिक्री भएको छ  ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा गिरावट देखिएको छ । बैंकिङ ३१.५१, व्यापार ६२.११, होटल तथा पर्यटन ३८.९८, विकास बैंक ९७.५१, जलविद्युत् ६७.१३, वित्त ३९.१३, निर्जीवन बीमा २४८.९५, उत्पादन १२७.६, अन्य ४६.८५, लघुवित्त ७१.५९, जीवन बीमा ३०६.६९, सामूहिक लगानी कोष ०.३२ र लगानी १.६ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४ करोड ९६ लाख ३८ हजार ९ सय ७५ बराबरको कारोबार भएको छ । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर रु ४ करोड ४१ लाख ५४ हजार २ सय ३३, हिमालयन डिस्टिलरी रु ४ करोड २३ लाख ३६ हजार ९ सय ३९, एनआइसी एसिया बैंक रु ४ करोड २ लाख ८ हजार ६ सय १८ र नबिल बैंक रु ३ करोड ९४ लाख ७२ हजार ९ सय ७८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ । 

बलेफी हाइड्रोपावर ९.९९, उपकार लघुवित्त ८.२३, गणपति लघुवित्त ३.०९, नेपाल एसबिआई बैंकको ऋणपत्र २ र सानिमा लार्ज क्यापका लगानीकर्ताले १.९७ प्रतिशतले कमाएको छ । त्यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंक ९.९९, ज्योति विकास बैंक ७.३६, लाइफ इन्स्योरेन्स कर्पोरेशन ७.२७, मल्टीप्रपोज फाइनान्स कम्पनी ६.०७ र युनाइटेड इदी मर्दी हाइड्रोपावरका लगानीकर्ताले ६.०२ प्रतिशतले गुमाएको छ ।