चुनावी प्रचारमा रहेका उम्मेदवार पाण्डे घाइते

मलेखु, धादिङ, २९ कात्तिक । चुनावी प्रचारमा गएका वाम गठबन्धनका उम्मेदवार तथा नेकपा (एमाले) पोलिटब्यूरो सदस्य राजेन्द्रप्रसाद पाण्डे बुधबार लडेर घाइते हुनुभएको छ ।
दक्षिणी धादिङको धुनीवेसी नगरपालिका–७ तोप्लाङका घरदैलो गर्दै गर्दा मजुवा लिखुतर्फ जाँदै गर्दा चिप्लिएर लड्दा घाइते हुनुभएको पाण्डेका स्वकीय सचिव दिनेश घिमिरेले जानकारी दिनुभयो ।
टाउको र गालामा चोट लागेको पाण्डेको नौविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि मनमोहन अस्पतालमा भर्ना गरिएको छ ।
पाण्डे धादिङको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभाका लागि वाम गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ ।