उम्मेदवारमाथिका आक्रमणका घटना नियन्त्रण गर्न ओली र दाहालको आग्रह

काठमाडौँ, २९ कात्तिक। वाम गठबन्धनमा सहभागी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का पार्टी अध्यक्षले देशका विभिन्न ठाउँमा उम्मेदवारमाथिको आक्रमणले निर्वाचनको सुरक्षामा गम्भीर प्रश्न उत्पन्न भएको बताउनुभएको छ । 
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले आज यहाँ आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा उहाँहरुले यस्ता घटना तत्काल रोक्न र कानुन हातमा लिन खोज्नेलाई कारबाही गर्न माग गर्नुभयो । उहाँहरुले निर्वाचनबाट आफूहरुको विजयपछि पार्टी एकतासमेत गर्दै मुलुकलाई सुशासित र लोकतान्त्रिक प्रणालीमा रुपान्तरित गर्ने धारणा व्यक्त गर्नुभयो ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सार्ने मनसायले यस्ता गतिविधि भएको उल्लेख गर्दै आफूहरुको तालमेल र एकता कुनै पक्षको विरोधमा नभई मुलुकको समग्र आर्थिक सामाजिक रुपान्तरणका लागि हो भन्नुभयो ।
उहाँले वर्तमान सरकार चुनावी र कामचलाउ भएकाले बूढीगण्डकी जलविद्युत् आयोजना जस्ता दूरगामी महत्वका विषयमा निर्णय गर्ने अधिकार नराख्ने दाबी गर्नुभयो । ओलीले अहिलेको सरकारले आफुखुशी निर्णय गरेमा पछि बन्ने सरकारले एकमुष्ट बदर गराउने चेतावनी दिनुभयो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनबाट अत्तालिएर काँग्रेसका नेता एवं सरकारका मन्त्रीहरु नै आधारहीन तथा कपोलकल्पित भ्रम फैलाउन र निर्वाचन आचारसंहिता विपरीतका काममा उद्धत रहेको आरोप लगाउनुभयो ।
अध्यक्ष दाहालले विगतमा कम्युनिष्टहरुले ‘बूढाबूढीहरुलाई मार्छन्’ भन्ने भ्रम फैलाइए पनि मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारले वृद्ध भत्ताको कार्यक्रम ल्याएर गतिलो जवाफ दिएको स्पष्ट गर्नुभयो । उहाँले आफूहरुको पार्टी एकताको निर्णय जनताको सम्पति भइसकेकाले कसैले रोक्न नसक्ने अठोट व्यक्त गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता चौतारीका अध्यक्ष गणेश बस्नेत र सञ्चालन सेन्टरका अध्यक्ष महेश्वर दाहालले गर्नुभएको थियो ।