जबरजस्ती करणी पश्चात नगद र गहना लुटपाट गरी फरार भएका तामाङ पक्राउ

काठमाडौं । काठमाडौँमा गत जेठ २९ गते २४ वर्षीया महिलालाई जबरजस्ती करणी पश्चात पीडितकै नगद र गहना लुटपाट गरी फरार भएकालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे तिमाल गाउँपालिका ९ घर भई बनेपा डेरा गरी बस्ने भोटे, जय, आशिष भन्ने ३० वर्षीय बिश्व तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

आफूलाई भोटे बताउने व्यक्तिले ती महिलालाई ललाई फकाई बिबाह गर्छु भनी प्रलोभनमा पारी काठमाडौं महानगरपालिका ११ भोटेबहालस्थित एक गेष्ट हाउसमा राखी लठ्ठिने पदार्थ पेय पदार्थमा मिसाएर खुवाई जबरजस्ती करणी पश्चात ती महिलाको नगद १ लाख रुपैयाँ, दुई तोला सुन र एउटा मोबाइल समेत लुटी फरार भएका थिए ।

उक्त घटनाको सूचना प्राप्त भएको तर अभियुक्त अपरिचित भई शून्यकै अवस्थामा रहेको अनुसन्धानलाई अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी अभियुक्तको पहिचान हुनासाथ प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनको खोजी गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।

उनी उपर जबर्जस्ती करणी गर्न नहुने र चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइहेको प्रहरी कार्यालयले जानकारी दिइएको छ ।