असार १५ सम्म पाठ्यपुस्तक सबै विद्यालयमा पुर्‍याइने

काठमाडौँ । नयाँ शैक्षिक सत्र सुरु भएको महिना दिन बितिसक्दा पनि सामुदायिक विद्यालयका विद्यार्थीले अझै पाठ्यपुस्तक पाउन सकेका छैनन् । पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले ९० प्रतिशत पाठ्यपुस्तक छपाएर वितरण गरिसकेको दाबी गर्दै असारको १५ गतेसम्म सबै ठाउँमा पुस्तकहरू पुगिसक्ने जानकारी द्यिइएको छ ।

जनक शिक्षा सामग्री केन्द्रले दैनिक १ लाख पुस्तक छपाइ गरेको भए पनि नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूले अझै पाठ्यपुस्तक पाउन सकेका छैनन् ।

विद्यार्थीहरूले समयमा पाठ्यपुस्तक नपाउने समस्या विगतदेखिकै भए पनि जनक शिक्षाले सामग्री केन्द्रले चाहिँ विश्व बजारमा कागजको अभाव भएर समयमा आपूर्ति गर्न नसकेका कारण समयमा पाठ्यपुस्तक छपाइ गर्न नसकेको बताएको छ ।

केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झा हालसम्म आधा मात्रै कागज आएको बताउछन् । विद्यालय तहका पाठ्यपुस्तक निःशुल्क उपलब्ध हुने व्यवस्था बमोजिम कक्षा १ देखि कक्षा ३ सम्म पाठ्यपुस्तक निजी क्षेत्रका मुद्रण व्यवसायी र कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले उत्पादन र वितरणको जिम्मेवारी पाएको छ ।

चालू शैक्षिक सत्रका लागि कक्षा ४ देखि १० सम्म कूल एक करोड ९८ लाख थान पाठ्यपुस्तक छपाइको लक्ष्य लिइएकोमा हालसम्म ९० प्रतिशत उत्पादन भई विक्री वितरण गरेको केन्द्रले जानकारी दिएको

केन्द्रका प्रबन्ध सञ्चालक झाका अनुसार असार १५ गतेसम्म सबै विद्यार्थीले पाठ्यपुस्तक पाइसक्नेछन् । जनक शिक्षाले पुस्तक छपाइ गरेर वितरणमा पठाएको जनाए पनि अधिकांश विद्यालयमा सबै पाठ्यपुस्तक पुगेको छैन । अङ्ग्रेजी, सामाजिक र नेपाली विषयका पुस्तक निजी विद्यालयहरूले पनि लागु गरेकाले सामुदायिक विद्यालयमा अपुग भएको अनुमान गरेको बताए ।

हाल कक्षा ६ को अङ्ग्रेजी, सामाजिक र नेपाली र कक्षा आठको पुस्तकहरू अभाव देखिएका छन् । कतै पुरै कक्षाका पुस्तक पुगेका छैनन् भने केही कक्षामा पुगेका पुस्तक पनि पूरा नभएको विद्यालयहरूले जानकारी दिएको छ ।

काभ्रेपलान्चोक जिल्लाको तेमाल गाउँपालिका भोज्र्याङ गाउँमा रहेको जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक भानुभक्त मैनाली कक्षा ६ मा दुई विषय र कक्षा आठको कुनै पनि पाठ्यपुस्तक आई नपुगेकाले पुराना पुस्तकबाट पठनपाठनलाई अगाडि बढाइरहेको बताएका छन् ।

कोरोना महामारीका कारण ढिला गरी सुरु भएको शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाउँदा पठनपाठन प्रभावित भएको छ ।