महानगरको पहिलो बजेट ३ अर्ब ५० करोड आउँदै

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि विराटनगर महानगरपालिकाले करिब ३ अर्ब ५० करोडको बजेट ल्याउने तयारी गरेको छ । हालै सम्पन्न स्थानीय तहका निर्वाचनमा निर्वाचित महानगरपालिकाको जनप्रतिनिधिको यो पहिलो बजेट हो ।

प्रदेश नं १ को एकमात्र महानगरपालिका रहेको सो महानगरपालिकाको बजेटमा नगरप्रमुख सहित निर्वाचित जनप्रतिनिधिले निर्वाचनका समयमा गरेको सङ्कल्प एवं प्रतिबद्धताका कार्यक्रमलाई समेटिएको जानकारी दिएको छ ।

चालु आर्थिक वर्षभन्दा झण्डै १ अर्ब कमको बजेट बन्न लागेको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाका प्रेस संयोजक मिनकुमार नवोदितले जानकारी दिएका छन् । चालु आवका लागि ४ अर्ब ६० करोड ८१ लाखको वार्षिक बजेट बनेको थियो । सङ्घीय सरकारले विराटनगर महानगरपालिकालाई दिने अनुदान रकम अन्य महानगरपालिकाभन्दा कम दिने कारणले बजेटको सीमा पनि कम भएको बताइएको छ ।

महानगरले आज नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र बजेटमार्फत करको दरलाई घटाइने तयारी गरिएको जानकारी दिइएको छ । नेपाली कांग्रेसबाट निर्वाचित प्रमुख कोइरालाले चुनाव अघि करको दर घटाउने र दायरा बढाउने मुख्य चुनावी ‘एजेन्डा’ बनाएको बताएका थिए ।

पालिकाले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको बताएका छन् ।