मन्त्री आलेद्वारा विभिन्न पूर्वाधारको शिलान्यास

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जोरायल गाउँपालिका–२ मा रहेको ‘रुपसकाँडा छहरा एवं बाँझिलेक क्षेत्रमा पूर्वाधार निर्माण’ आयोजनाको शिलान्यास गरेका छन् ।

शनिबार भएको एक कार्यक्रमबीच मन्त्री आलेले शिलान्यास गरेका हुन् । क्रमागत योजनाका रुपमा कार्यान्वयन हुने उक्त आयोजनाअन्तर्गत रु ९ करोडको लागतमा रुपसकाँडा र बाँझिलेकमा घरबास, झरनास्थलमा शिवको मूर्ति, रुपसकाँडा–बाँझिलेक जोड्ने सडक निर्माण, छहरा झरना जाने सडक स्तरोन्नति, सेल्फी प्वाइन्ट लगायतका पूर्वाधार एकीकृत रुपमा निर्माण गरिने बताइएको छ ।

उक्त आयोजनाको शिलान्यास गर्दै मन्त्री आलेले स्थानीय जनताले आफ्नो ठाउँ कस्तो बनाउने भनेर चासो र चिन्ता लिन आग्रह गर्दै बजेट व्यवस्था गर्ने जिम्मेवारी आफ्नो रहने प्रतिबद्धता व्यक्त गरेका छन् । छिटफुट रुपमा पर्यटकको रोजाइँ र गन्तव्य बनेको भए पनि कोरोना कहरले थलिएको समयमा गत वर्ष मात्रै छहरा झरनामा दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक र बाह्य पर्यटक भित्रिएका थिए ।

धार्मिक तथा पर्यटकीय क्षेत्र छहरा झरना हेर्न विशेष गरेर कैलाली, कञ्चनपुरसहित पूर्वी नेपालका जिल्ला र छिमेकीमूलुक भारतबाट समेत पर्यटक आउने गरेका स्थानीयवासी शङ्कर रावलले जानकारी दिएका छन् ।

उड्डयनमन्त्री आलेको पहलमा यहाँको बडिकेदार, शैलेश्वरीलगायत खप्तड–मानसरोवरसम्मको विकासका लागि र देशका थुप्रै महत्वपूर्ण पर्यटकीय क्षेत्रमा मन्त्री आलेको ठूलो योगदान रहेको पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले बताएका छन् ।

आयोजना शिलान्यास कार्यक्रममा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दीर्घराज बोगटी, जोरायल गाउपालिका–२ का वडाध्यक्ष वीरबहादुर दर्लामी, विभिन्न सरोकारवाला, पत्रकार लगायतको सहभागिता भएका थिए ।