ग्रामीण क्षेत्रमा पर्यटन पूर्वाधार विकास गर्नुपर्छ : मन्त्री रेग्मी

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ग्रामीण क्षेत्रमा पर्यटन पूर्वाधार विकास गरी युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् ।

एसएस हस्पिटालिटी सोलुशन प्रालिको तेस्रो वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सङ्घसंस्थाको भूमिका तथा सम्मान कार्यक्रम’मा उहाँले पर्यटन, कृषि र जलविद्युत्मार्फत देशको विकास गर्नुपर्ने बताए ।

“मुलुकभित्रका दूरदराजका ग्रामीण क्षेत्रमा ‘होमस्टे’ सञ्चालन गरी पर्यटकलाई सहुलियत दरमा खान र बस्ने सेवा प्रदान गर्नसके नेपालको पर्यटन क्षेत्रले थप फड्को मार्ने विश्वास मैले लिएको छु”, उनले भने। मुलुकलाई चिनाउनका लागि हस्पिटालिटी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । मन्त्री रेग्मीले गाउँका युवा रोजगारीका लागि विदेश पलायन हुँदा गाउँघरमा ज्येष्ठ नागरिक र महिलामात्र बाँकी रहेको भन्दै युवालाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्न पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

पर्यटन, कृषि र जलविद्युत क्षेत्रको विकासका लागि सरकारले उच्च प्राथमिकता दिएको उहाँको भनाइ थियो । उहाँले दूरदराजका बसेका महिलाको जीविकोपार्जन सुधारका लागि आफ्नो मन्त्रालयले उद्यमशीलता तालिम प्रदान गर्दै आएको बताए ।

काठमाडौँ महानगरपालिका–४ का सभापति रामप्रसाद न्यौपानेले मुलुक आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रलाई अगाडि बढाउन सरकारले विशेष कार्यक्रम अगाडि बढाउनुपर्ने बताएका छन् । एसएस हस्पिटालिटी सोलुशन प्रालिका अध्यक्ष नगेन्द्रप्रसाद अधिकारीले आफूले विदेशमा सिकेका अनुभवलाई नेपालको पर्यटन प्रवद्र्धनमा लगाएको बताउदै, डेरी एशोसिएशन अफ नेपालका अध्यक्ष प्रह्लाद दाहालले दैनिक देशभर ६२ लाख लिटर दूध उत्पादन हुने गरेको बताउनुभयो । उहाँले डेरी व्यवसायबाट देशभरबाट छ लाख जनताले रोजगारी पाएको उल्लेख गरेका छन् ।