अविरल वर्षासँगैको बाढीले पूर्वी तराईका बस्तीहरू प्रभावित

काठमाडौँ । अविरल वर्षासँगैको बाढीले पूर्वी तराईका बस्तीहरू प्रभावित भएका छन् । वर्षाको निकास थुनिएर बस्ती जलमग्न हुँदा सुनसरी, मोरङ र झापाका गाउँहरूमा त्रास बढेको छ । वर्षा थामिएको छैन । आसपासका खोलानालाका जलस्तर बढेको छ । रोपाइँमा व्यस्त हुने गाउँले घर छाडेर सुरक्षित स्थानमा सरेका छन् । अविरल वर्षाका कारण प्रदेश १ को राजधानी विराटनगर अस्तव्यस्त छ ।

पूर्वी नवलपरासीमा पर्ने पूर्वपश्चिम राजमार्गको अरुणखोला–दुम्कीबास खण्डमा बुधबार बाढीले भत्काएको डाइभर्सन । विस्तारको काम भइरहेको बुटवल–नारायणगढ खण्डका तीन ठाउँमा बाढीले डाइभर्सन बगाउँदा आवागमन अवरुद्ध भएको छ ।

सुनसरीका आधा दर्जन बढी बस्ती डुबानमा परेका छन् । दर्जनौं परिवार विस्थापित भएका छन् । बाढी पसेर दक्षिणवर्ती बस्ती जलमग्न भएका छन् । सुनसरीका ६ वटा स्थानीय तहका बस्तीहरू बढी प्रभावित छन् । भोक्राहा नरसिंह गाउँपालिका–५ र ७ वडाका सयौं घर बाढीले डुबाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । भोक्राहा नरसिंह–७ का १ सय ५० घर पूर्ण र १ सय ८८ घर आंशिक डुबानमा परेका छन् । वडा ५ मा ३० घरका परिवार विस्थापित भएका छन् । तीमध्ये १६ घरका ९० जना त्रिपाल टाँगेर बसेका छन् भने १४ घरका ८० जना छरछिमेकको घरटहरामा आश्रय लिएर बसेका छन् ।

प्रजिअ यादवका अनुसार डुबानको कारण सुनसरीमा २ सय ३९ भन्दा बढी विस्थापित भएका छन् । बाढीको चपेटामा सबैभन्दा बढी पर्नेमा सुनसरीका भोक्राहा नरसिंह, इटहरी, बर्जु परेको छ । बर्जु–६ चिमडीमा ४० घरपरिवार विस्थापित भएर पाल टाँगेर बसिरहेका छन् । यसैगरी बर्जु–५ मा ट्यांग्रा खोलामा आएको बाढीले पण्डित टोलमा ६ र गुरुङ टोलमा ८ परिवार विस्थापित भएका छन् । ८ घरका ३२ जनालाई मुसहर भवन र ७ घरका २९ जनालाई रामजानकी प्राविमा राखिएको छ ।

दुहबी–४ ढकिबुन्ना टोलमा बुढी खोलामा आएको बाढीले शोभा चौधरी र विकास विकको घर भत्किँदा ९ जना विस्थापित भएका छन् । उनीहरूलाई नजिकैको विद्यालयमा राखिएको छ । इनरुवा–८ उराव टोलका २० घर डुबानमा परेको छ । हरिनगर–५ को वसन्तपुरमा बस्ती जलमग्न छ । इटहरी–५ को सिमरवनामा सिकुमारी खोलामा आएको बाढी बस्तीमा पसेको छ । रामवृक्ष चौधरीको २ तले घर कटान भएर भत्किएको छ ।

चौधरी परिवारका ८ जनाले छिमेकमा शरणमा लिएका छन् । बराहक्षेत्र–१ चतराको भित्री खण्डमा आएको पहिरोले १० मिटर सडक पुरिएको छ । देवानगन्ज–६ का २० घरका ८२ परिवार विस्थापित छन् ।

पहाडी क्षेत्रमा अविरल वर्षाले सप्तकोसी नदीमा पानीको बहाव बढ्ने क्रम जारी छ । बुधबार कोसी ब्यारेजका ५२ मध्ये २४ ढोका खोलिएको छ । बुधबार अपराह्न ४ बजेसम्ममा १ लाख ८१ हजार ९५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव देखियो । यसअघि मंगलबार साँझ जलस्तर १ लाख ३१ हजार ३० क्युसेक प्रतिसेकेन्ड थियो । कोसीमा दुई लाख क्युसेक प्रतिसेकेन्ड पानीको बहाव भएमा खतराको संकेत मान्ने गरिएको छ ।

ढल एवं नालाको व्यवस्थापन नहुँदा प्रदेश १ को राजधानी विराटनगर जलमग्न छ । मंगलबार र बुधबार परेको पानीले महानगरका १९ वटै वडा जलमग्न छन् ।

एसियाली विकास बैंकको सहयोगमा एकीकृत सहरी विकास परियोजना र क्षेत्रीय सहरी विकास परियोजनाले महानगरमा ढल र सडकका दुवै किनारमा नाला बनाएको छ । मुख्य बजार क्षेत्र जोगाए पनि ती ढल र नालाको निकास नहुँदा महानगरको पूर्वी, पश्चिम र दक्षिणी क्षेत्रका बस्ती जलमग्न छन् । पूर्वको सिंघिया र पश्चिममा बग्ने केसलिया खोला महानगर डुबानका स्थायी स्रोत हुन् । यसैबीच डुबान र बाढीका कारण महानगरले बुधबारदेखि शुक्रबारसम्मका लागि महानगरभित्रका सामुदायिक विद्यालय बन्द गरेको छ । डुबानमा परेर विस्थापित भएका परिवारलाई विद्यालयहरूमा राखिएको छ । वर्षासँगैको बाढीले महानगरका ८३ परिवारका ३ सय १५ जना विस्थापित भएको मोरङ प्रहरीले जनाएको छ । सयौं घर डुबानमा परेका छन् । मोरङमा ३ सय ६७ घरपरिवार विस्थापित हुँदा १ हजार ३ सय ६८ प्रभावितलाई अन्यत्र सारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । उता झापाका दक्षिणवर्ती क्षेत्रमा बुधबार दिउँसोदेखि वर्षा कम हुन थालेपछि डुबान पीडितहरू घर फर्कन थालेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सयभन्दा बढी परिवार घर फर्केका छन् । झापाका एसपी विश्वमणि पोखरेलले नदीको जलस्तर घटेका कारण विस्थापितहरू घर फर्कन थालेको बताए । धेरैजसो पीडित भने अझै नजिकैको विद्यालय, धर्मशाला र मन्दिरमा आश्रित छन् । उनीहरूलाई रेडक्रस र विपद् व्यवस्थापन समितिले राहत वितरण गरेको छ । रेडक्रसले बुधबार गौरीगन्ज–१ का ५० विस्थापित परिवारका लागि ६० थान त्रिपाल र ६० थान हाइजिन किट वितरण गरेको छ ।

बाढीले दक्षिण झापाका अधिकांश स्थानमा डुबान र कटान जारी छ । बाढी प्रभावितहरूलाई सुरक्षाकर्मीले उद्धार गरेर सुरक्षित स्थलमा सारेका छन् । सशस्त्र प्रहरी नम्बर २ हेडक्वार्टर झापाका अनुसार बुधबार बिहानैदेखि रतुवाको बाढीले गौरीगन्ज–५ श्यामटेलीमा कटान र डुबान सुरु गरेको छ । प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठ नेतृत्वको १५ जनाको टोली र स्थानीय कटान रोक्न अस्थायी बाँध निर्माणमा जुटेका छन् । बाढी पस्दा करिब २ सय घर धुरी डुब्ने र ५ सयभन्दा बढी प्रत्यक्ष प्रभावित बन्ने जोखिम रहेको सशस्त्रको झापाका डीएसपी प्रेम भण्डारीले बताए । गौरीगन्ज र गौरादहका जनप्रतिनिधिको टोलीले बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्दै पीडित हुन सक्ने स्थानीयलाई तत्काल सुरक्षित स्थलमा सार्न सुझाव दिएका छन् । गौरीगन्ज–१ को बालुबारी, बिर्खेबस्ती र टप्पु, गौरीगन्ज–२ भाकुरमारी, पिण्डलगुडु र वडा–४ बेलगाछीका बाढी प्रभावित करिब ७ सय परिवारलाई सुरक्षित स्थानमा लगेर राखिएको सशस्त्रका डीएसपी प्रेम भण्डारीले बताए । भद्रपुर–८ घोडामारा, बाह्रदशी–२ को सुकुम्बासी बस्ती, झापा गाउँपालिका तल्लो चप्रामारी, गौरादह–५ चप्रामारी र गौरादह–६ टगुवाका बाढी प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको हो ।

झापामा अविरल वर्षा जारी छ । मेची, रतुवा, कमल, कनकाई, मावा, निन्दाजस्ता ठूला नदीहरूमा पानीको सतह बढेर आसपासका बस्ती जलमग्न छ । नदीले सयौं बिघा जमिन कटान गरेको छ ।

कान्तिपुरबाट