सिमकोटमा दलित बालबालिका विद्यालयको पहुँच बाहिर

काठमाडौँ । हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाका १५ प्रतिशत दलित बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेका छन् । गाउँपालिकाको सहयोगमा गरिब तथा उपेक्षित कल्याण कार्यक्रमले हालै सार्वजनिक गरेको तथ्याङ्कमा दलित बालबालिका शिक्षाबाट वञ्चित रहेको पाइएको हो ।

सरकारले विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई अनिवार्य विद्यालाय पठाउन विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । तरा सिमकोटका ६ सय ९२ बालबालिकामध्ये १५ प्रतिशत १ सय ६ जना विद्यालयको पहुँच बाहिर रहेका छन् । गरिब तथा उपेक्षित कल्याण कार्यक्रमका अध्यक्ष पर्वत सुनारका अनुसार ८ वटा वडा रहेको सिमकोटमा सबैभन्दा बढी वडा नं ६ मा २७ बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेका छन् ।

तथ्याङ्क अनुसार वडा नं २ मा २६, ७ मा १७, ४ मा १२, ८ मा १०, ५ मा ८ र वडा नं ३ मा ६ बालबालिका विद्यालयको पहुँच बाहिर रहेका छन् । सिमकोट गाउँपालिकाभर बालविकास केन्द्रमा १ सय ३६, प्राथमिक तहमा २ सय ४८, माध्यमिक तहमा १ सय ७२ र प्राविधिक शिक्षातर्फ ३० दलित समुदायका विद्यार्थी अध्ययनरत छन् ।